1660-01-5-8888

मोबाइल मनी भनेको विद्युतीय वालेट सेवा हो । यस सेवामा प्रयोगकर्ताले आफ्नै मोबाइल प्रयोग गरी बैङ्क खातामा वा आफ्नै मोबाइल खातामा पैसा जम्मा गर्न, अरूलाई पैसा पठाउन र अरूबाट पैसा प्राप्त गर्नेलगायत कार्य गर्न सक्छन् । पछिल्लो समय विश्वभर विभिन्न बैङ्कले आफ्ना ग्राहकलाई यो सेवा प्रदान गरिरहेका छन् । बैङ्कसँग मिलेर अरू संस्थाले पनि यो सेवा दिने गरेको समेत पाइन्छ । यो सेवा जुनसुकै फोनमा पनि प्रयोग गर्न सकिन्छ, चाहे त्यो स्मार्टफोन होस् वा फिचर फोन ।

मोबाइल मनीको प्रयोग

अहिले विश्वभर स्मार्टफोनबाट भुक्तानी गर्ने चलन चलेको छ । तर मोबाइल मनीको अवधारणा सबैभन्दा पहिला केन्यामा प्रयोग भएको थियो । सन् २००७ को मार्च महीनामा बेलायती दूरसञ्चार कम्पनी भोडाफोनको केन्याली सहायक कम्पनी सपारीकमले त्यहाँ एम–पेसा सेवा लञ्च गरेको थियो । सफारीकमले एक दशकअघि शुरूमा प्रयोगकर्ताहरूबीच ससानो रकम भुक्तानीका लागि मात्रै यो सेवा शुरू गरेको थियो । तर पछि यसमा फाइनान्सिङ र माइक्रोफाइनान्सिङको सुविधा पनि दिइयो । हाल यो सेवामा सीमापार रकम स्थानान्तरण, कर्जा र स्वास्थ्य प्रावधान समेत समाविष्ट छ । अहिले यो सेवा करीब ८० प्रतिशत केन्यालीहरूले प्रयोग गरिरहेका छन् । त्यहाँको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २५ प्रतिशतभन्दा बढी यही सेवामार्फत प्रवाह हुने गरेको छ ।

मोबाइल मनीको प्रयोगमा केन्याको सफलता

केन्यापछि अफगानिस्तान, दक्षिण अफ्रिका, भारतलगायत विश्वका विभिन्न स्थानमा समेत विस्तार भइसकेको छ । तर, केन्यामा मोबाइल मनीले जुन सफलता प्राप्त गरेको छ त्यही सफलता अन्य देशमा छैन । मोबाइल फोनको माध्यमबाट लघुवित्त कर्जा भुक्तानीलाई सहज बनाउन, रकम स्थानान्तरणको लागत घटाउन र ब्याजदरलाई न्यून बिन्दुमा कायम गर्न मद्दत होस् भन्ने हेतुले एम–पेशाको विकास गरिएको थियो । तर, परीक्षण सकिन नपाउँदै यो सेवा रकम स्थानान्तरणको सर्वसुलभ साधन प्रमाणित भयो । यसको सफलतामा त्यहाँको केन्द्रीय बैङ्कले निकै सकारात्मक भूमिका निर्वाह गरेको पाइन्छ । मोबाइल मनी सेवालाई बैङ्किङ सेवा नठानेर नियामक बैङ्कले सो व्यवसाय प्रवेशमा सीमित मापदण्ड तोकिदिएको पाइएको छ । अन्य माध्यमको तुलनामा एम–पेशाबाट थोरै खर्चमै रकम स्थानान्तरण हुनु पनि यसको सफलताको एउटा कारण थियो । यस सेवाले वित्तीय र बैङ्किङ क्षेत्रले समेट्ने नसकेको ग्रामीणभेगदेखि झुपडपट्टीसम्मका मानिसलाई समेट्न सफल भयो ।

यति मात्रै होइन, एम–पेशा सेवाले विस्तारै कर्जा र बचत सेवा पनि उपलब्ध गरायो । तलब वितरण, महशुल भुक्तानीलगायत कार्यमा समेत यसको प्रयोग हुन थालेपछि यसबाट मानिसको समय र पैसा समेत बचत हुन थाल्यो । एम–पेशा सेवा प्रयोग गर्न थालेपछि ग्रामीण केन्याली घरपरिवारको आम्दानीमा ५ प्रतिशतदेखि ३० प्रतिशतले बढेको एक अध्ययनले देखाएको थियो । त्यस्तैगरी, केन्यामा चरम गरीबीमा बाँचिरहेका २ प्रतिशत केन्यालीको जीवनस्तर एम–पेशाले उकासेको सफारीकमको तथ्याङ्कले देखाएको छ । यसरी भरपर्दो मोबाइल भुक्तानी मञ्चको विकासले केन्यामा विभिन्न स्टार्टअप कम्पनीको उदय गरायो । सम्पत्ति शुद्धीकरणलगायत चिन्ताका कारण ताञ्जानिया र अफगानिस्तानलगायत देशहरूमा बैङ्क र नियामकहरूले नै मोबाइल–मनी योजनाको विरोध गरे । तर, केन्यामा भने दूरसञ्चार कम्पनी, बैङ्क र नियामक निकायहरूले नै यसको प्रवद्र्धनमा जोड दिए । त्यहाँ मोबाइल मनीको अवधारणा सफल हुनुमा यो पनि एउटा कारण भएको विश्लेषण गरिएको छ ।

भारतमा अमौद्रिकीकरणपछि अवस्था

केन्याको सफलतापछि सफारीकमको मातृकम्पनी भोडाफोनले ताञ्जानिया, मोजाम्बिक, इजिप्ट, रोमानिया, अल्बानिया घानालगायत देशमा यो सेवा लञ्च गरेको थियो । हामै्र छिमेकी मुलुक भारतमा पनि भोडाफोनले सन् २०१३ मा एम–पेशा सेवा लञ्च गरेको थियो । तर, पछिल्लो समय भारतमा मोबाइल मनीको प्रयोग निकै बढेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर ८ मा प्रचलनमा रहेको दुई ठूला कागजी नोट ५ सय र हजार दरका भारू खारेज गर्ने निर्णय गरेपछि उच्च नगद सङ्कटको स्थिति देखा पर्‍यो । यस्तो स्थितिमा पेटीएमलगायत नामका मोबाइल वालेटबाट भुक्तानी गर्ने प्रवृत्ति निकै बढ्यो । विमौद्रिकीकरणपछि खुद्रा पसल, तरकारी विक्रेता, पेट्रोल पम्पलगायत स्थलहरूमा समेत डिजिटल माध्यमबाट भुक्तानी गर्ने परिपाटी बढेको छ । सोको परिणामस्वरूप हालै मात्र त्यहाँ बटुवा, चिल्लरलगायत नामका विभिन्न नयाँ मोबाइल वालेट सेवा शुरू गरिएको छन् ।

नेपालको स्थिति

नेपालमा अनलाइन बैङ्किङ सेवा शुरू भएको करीब १ दशक बित्न लागिसकेको छ । यहाँ मोबाइल मनीको अवधारणा करीब आधा दशक अघि ल्याइएको थियो । तर, त्यो सेवा कुनै दूरसञ्चार कम्पनीले नभएर निजीक्षेत्रको बैङ्कले ल्याएको थियो । कुमारी बैङ्क लिमिटेडले प्रयोगमा ल्याएको कुमारी मोबाइल क्यास नै सम्भवतः नेपालको पहिलो मोबाइल मनीको प्रयोग हो । त्यसपछि सिद्धार्थ बैङ्क, लक्ष्मी बैङ्क, बैङ्क अफ काठमाडौं, एसबीआईलगायत विभिन्न बैङ्कहरूले समेत विभिन्न नाम दिएर यो सेवा सञ्चालनमा ल्याएका छन् । लक्ष्मी बैङ्कको मोबाइल मनी र मोबाइल खाता सेवा र बैङ्क अफ काठमाडौंको एम–पैसालाई त्यसका उदाहरणका रूपमा लिन सकिन्छ ।

नेपालमा चालू आवको पुस मसान्तसम्ममा २२ लाख ३६ हजार ७४ जना मोबाइल बैङ्किङ सेवा प्रयोगकर्ता रहेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । अहिले करीब सबैजसो नेपालीको हातमा मोबाइल पुगिसकेको छ । ‘ग’ वर्गसम्मका बैङ्कका कुल २ हजार ९ सय ७९ शाखा रहेको र यसमध्ये हरेकले औसतमा करीब ६ हजार ५ सय जनतालाई वित्तीय सेवा उपलब्ध गराइरहेको समेत राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । वित्तीय तथा बैङ्किङ क्षेत्रले समेट्न नसकेका ग्रामीण भेगका जनसङ्ख्यालाई बैङ्किङ क्षेत्रको दायरामा ल्याउन मोबाइल बैङ्किङ निकै उपयोगी हुने विश्वका विभिन्न देशका उदाहरणले साबित गरिसकेका छन् ।

दूरसञ्चार कम्पनीहरूले मोबाइल मनी सेवा प्रयोग गर्न पाउने हो भने हाम्रो देशका अधिकांश जनता बैङ्किङ सेवाको पहुँचमा आउन सक्छन् । तर, अहिलेसम्म बैङ्क तथा ‘थर्ड पार्टी’का रूपमा रहेका कम्पनीहरूले मात्रै यस किसिमको सेवा सञ्चालन गरिरहेका छन् । टेलिकम कम्पनीहरूले पनि मोबाइल बैङ्किङ सेवाको प्रयोगमा चासो देखाइरहेका छन् । दूरसञ्चार कम्पनीहरूले यस किसिमको भुक्तानी सेवा सञ्चालन गर्न चाहेमा राष्ट्र बैङ्कबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । यद्यपि, सो कार्यका लागि नेपाल दूरसञ्चार प्राधिकरणले समेत नियमनको तयारी गरिरहेको छ ।

-रमा सुवेदी

This article was originally published in Abhiyan Daily. Read the original article here.

Do you have anything to comment on in this article?