1660-01-5-8888

खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी घरमै बसिबसी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । यसरी खर्च गर्न खल्तीमा पैसा चाहीँ कसरी राख्ने ? तपाईं अल्मलिनु भएको होला । सजिलो छ ।

तपाईंले सुरुमा खल्ती एकाउन्ट खोल्दा तपाईंको ब्यालेन्स शून्य हुन्छ । त्यसपछि जुनसुकै कारोबार गर्न तपाईंले खल्तीमा रुपैयाँ लोड (जम्मा) गर्नु पर्छ ।  त्यसको लागि तपाईंले सबैभन्दा माथि रहेको मेनु लोड फण्ड (load fund) मा ट्याप गर्नु होस् ।

त्यहाँ तपाईंलाई विभिन्न अप्सन उपलब्ध छ । 

तपाईँसँग बैंक खाता छ भने तपाईंहरुले तल दिएका विधि अपनाउन सक्नुहुन्छ ।

बैंकिंग माध्यम

१. Khalti Bank Direct (Linked account)

तपाईंले खल्तीले सहकार्य गरेका बैंकहरुको मोवाइल एप वा वेवसाइटलाई खल्ती मोवाइल एकाउन्टसँग लिंक गर्न सक्नुहुन्छ । लिंक एकाउन्ट मेनुमा क्लिक गर्दा खल्तीमा आवद्ध बैंकहरुको सूची देखाउँछ । तीमध्ये तपाईंको खाता रहेको बैंकबाट तपाईंले चाहेको बेला बैंक एकाउन्टबाट खल्ती मोवाइल वालेटममा सजिलै नगद लोड गर्न सक्नुहुन्छ । खल्तीले लक्ष्मी बैंक, एनआइसि एशिया बैंक र मुक्तिनाथ विकास बैंकसँगकाे सहकार्यमा खल्ती मोवाइल वालेटमा एकाउन्ट लिंक गर्ने ब्यवस्था मिलाएको छ । ती सबै बैंकको मोवाइल एप तथा वेवसाइटमा खल्ती वालेटलाई कसरी एकाउन्टसँग लिंक गर्ने भन्ने अप्सन उपलब्ध छन् । 

 

२. इ बैंकिंग

खल्ती मोवाइल वालेटले सहकार्य गरेका बैंकहरुको अनलाइन बैंकिंग सेवा लिनु भएको छ भने तपाईंले आफ्नो खल्ती वालेटमा सिधै रकम लोड गर्न सक्नु हुन्छ । इबैंकिंग मेनुमा क्लिक गरेपछि तपाईंलाई खल्तीमा आवद्ध बैंकहरुको सूची देखाउँछ । ती सबै बैंकको मोवाइल एप तथा वेवसाइटमा खल्ती वालेटमा नगद लोड गर्ने मेनु उपलब्ध छन् । त्यहाँ गएर लोड गर्न चाहेको रकम छनौट गर्नुहोस् । त्यसपछि सम्बन्धित बैंकको वेवसाइट लगिन पेजमा रिडाइरेक्ट हुन्छ । त्यहाँ तपाईंले बैंकले प्रदान गरेको अनलाइन बैंकिंग युजर नेम र पासवर्ड हालेर स्वीकार गरेपछि तपाईंको खल्ती वालेटमा नगद लोड हुन्छ । 

 

३. मोवाइल बैंकिंग

तपाईंले खल्ती मोवाइल वालेटले सहकार्य गरेका बैंकहरुको मोवाइल बैंकिंग सेवाबाट समेत खल्ती वालेटमा रकम लोड गर्न सक्नु हुन्छ । ती सबै बैंकको मोवाइल एपमा खल्ती वालेटमा नगद लोड गर्ने मेनु उपलब्ध छन् ।

 

४. भिषा/मास्टर कार्ड

तपाईंले कुनै बैंक वा वित्तीय संस्थाले जारी गरेका भिषा वा मास्टर कार्डबाट घरमै बसेर नगद लोड गर्न सक्नु हुन्छ । त्यसका लागि तपाईंले Visa/Master card अप्सनमा गएर आफ्नो कार्ड नम्बर, कार्डको मान्य अबधि र कार्डमा रहेको ३ अंकको सेक्युरिटी कोड इन्ट्री गरेपछि तपाईंले चाहेको रकम खल्ती वालेडमा लोड गर्न सक्नु हुन्छ ।

 

५. एससिटी कार्ड

नेपालमा विभिन्न बैंक तथा वित्तिय संस्थाले जारी गर्ने स्मार्ट च्वाइस टेक्नोलोजी (SCT) कार्डबाट पनि भिषा वा मास्टर कार्डबाट जस्तै गरी खल्ती वालेटमा नगद लोड गर्न सक्नुहुन्छ। 

 

६. कनेक्ट आइपिएस

अहिले कनेक्ट आइपिएस एकाउन्ट बनाउनेहरुलाई नगद ट्रान्सफर निकै सजिलो भएको छ । कनेक्ट आइपिएसमा एकाउन्ट बनाएपछि बैंक खातालाई त्यसमा जोड्न सकिन्छ । कनेक्ट आइपिएसबाट ठूलो परिमाणमा (लाखौं) नगद ट्रान्सफर गर्न सकिन्छ । त्यही कनेक्ट आइपिएस खाता तपाईंसँग छ भने कनेक्ट आइपिएसको मोवाइल एप वा वेव पेजमा लग इन गरेर ड्यास बोर्डमा रहेको लोड वालेट मेनुमा क्लिक गरेपछि खल्ती वालेट देखाउँछ । त्यसमा आफ्नो खल्ती वालेट नम्बर र रकम इन्ट्री गरेर तपाईंले वालेटमा रकम लोड गर्न सक्नुहुन्छ ।  

 

तपाईँसँग बैंक खाता छैन भने ।

अरू माध्यमहरू

१. Khalti sewa Kendra

ठाउँठाउँमा रहेका खल्तीका सेवा केन्द्रहरुमा गएर नगद दिएर तपाईंको खल्ती मोवाइल खातामा रुपैयाँ लोड गर्न लगाउन सक्नु हुन्छ । यस्ता सेवा केन्द्र नेपालभर रहेका छन् ।  

 

२. Bank Deposit

तपाईले बैंकमा गएर खातामा रकम जम्मा गरेजस्तै गरी खल्ती वालेटमा नगद जम्मा गर्न सक्नु हुन्छ । त्यसका लागि खल्तीले नेपाल इन्भेस्टमेन्ट बैंक, माछापुच्छ्रे बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला विकास बैंक र आइसिएएफसी फाइनान्ससँग सहकार्य गरेको छ । ती बैंक तथा वित्तीय संस्थामा गएर तपाईंले खल्तीमा नगद जम्मा गर्ने भनेर छुट्टै भौचर माग्नु पर्छ । ती भौचरमा तपाईंको खल्ती वालेट नम्बर, नाम र जम्मा गर्ने रकम भरेर काउन्टरमा दिएपछि तुरुन्तै खल्तीमा नगद जम्मा हुन्छ । वालेटमा नगद जम्मा भएको तुरुन्तै म्यासेज आउँछ ।

 

३.Khalti send/request 

तपाईंसँग माथि उल्लेखित कुनै सुविधा उपलब्ध छैन भने पनि नआत्तिनुहोस् । तपाईंले साथीसँग नगद सापटी लिएजस्तै खल्ती वालेट भएका साथीसँग वालेटमा सापटी लिन सक्नु हुन्छ । साथीलाई फोन गरेर वालेटमा पठाउन आग्रह गर्ने त छँदैछ । त्यसबाहेक खल्ती एपबाटै Load Fund मा रहेको साथीसँग अनुरोध (request from friend) मेनुमा ट्याप गरेर साथीसँग कति रकम सापटी माग्ने हो अनुरोध गर्न सक्नु हुन्छ । अनुरोध गरेको म्यासेज सम्बन्धित खल्ती वालेट भएको साथीको मोवाइलमा जान्छ । 

यसरी लोड गर्नु भएको रकम तपाईंले आफूलाई आबस्यकता परेको बस्तु तथा सेवा खरिद गर्न प्रयोग गर्न सक्नु हुन्छ । 

 

४. भाटभटेनी मनीट्रान्सफर काउन्टर

भाटभटेनी सुपरमार्केट र भाटभटेनी मनीट्रान्सफर काउन्टरमा गएर पनि खल्तीमा रकम लाेड गर्न सकिन्छ । 

 

५. सिटी एक्स्प्रेस एजेन्ट

सिटी एक्स्प्रेस मनीट्रन्सफरका देशभरिरहेका ७ हजार ५ सयभन्दा बढी एजेन्टहरूबाट पनि खल्तीमा रकम जम्मा गर्न सकिन्छ । सिटी एक्सप्रेसका एजेन्टहरूकाे सूची यहाँ हेर्नुहाेस्ः https://ctxpress.com/location/

 

६. पेप्वाइन्ट किओस्क मेसिन (Kiosk)

सहरका विभिन्न स्थानमा राखिका किओस्क  मेसिनबाट पनि खल्तीमा रकम जम्मा गर्न सकिन्छ । ती मेसिनमा रहेकाे स्क्रिनमा रहेकाे ‘wallet Khalti’ छानेपछि खल्ती माेवाइल नम्बर र जम्मा गर्ने रकम हालेर खल्तीमा नगद लाेड गर्न सकिन्छ । 

 

७. सहकारीकाे स्मार्ट एप

स्मार्ट एप भएका विभिन्न सहकारी संस्थाकाे एपबाटै खल्तीमा नगद लाेड गर्न सकिन्छ । सहकारीकाे एपमा रहेकाे Payment सेक्सनमा रहेकाे Load Khalti मा खल्ती वालेट नम्बर र रकम उल्लेख गरेर पनि खल्तीमा नगद लाेड गर्न सकिन्छ ।

खल्तीमा नगद लाेड गर्न सकिने स्मार्ट एप भएका सहकारीहरूकाे सूची हेर्नुहाेस्ः https://bit.ly/khalticooperativelist