कुनै पनि कारोबार सम्पन्न हुन दुई पक्षीय सम्झौता आवश्यक हुन्छ। सानो भन्दा सानो किनमेल देखि ठूल्ठूला कारोबारहरुले एकमुष्ट रुपमा अर्थतन्त्र चलाएको हुन्छ। त्यसमा पनि हरेक कारोबारको एउटा मूल्य हुन्छ जुन प्राय: नगद बाट नै तिरिन्छ। अहिलेको बदलिँदो परिवेशमा नगदका विकल्प पनि अभ्यासमा आउन थालेका छन्। तर, तिनको चलन-चल्ति प्रयोगकर्ताको बानीको रुपमा विकास भएको छ त ? यस प्रश्नको जवाफले नगद पैसा बिना कारोबार सम्भव छ कि छैन भन्ने कुरा बताउँछ।
स्वयम्भूमा पछिल्लो चार वर्ष देखि सफल रुपमा साइबर पसल चलाउँदै आएका सतिश महर्जनले आधिकारिक रुपमा नेपालको एक चल्तिमा रहेको पेमेन्ट गेटवेसँग आबद्व भएर आफ्नो ब्यापार धानिरहेका छन्। उनको चार वर्षको अनुभव अनुसार ग्राहकहरु क्यासलेस पेमेन्टतिर ढल्किरहेका छन्। र यो माध्यममा मानिसहरुको सजगता, विश्वास र अभ्यास सकारत्मक रुपमा परिवर्तन हुँदैछ।
वर्तमान अवस्थामा उनको पसलमा दैनिक रुपमा रु. ९ हजार देखी १५ हजार सम्मको नगदरहित नै अनलाईन कारोबार हुने गर्दछ र त्यसमा पनि बिजुली र ल्यान्डलाईन फोनको बिलको मात्रा अरु भन्दा धेरै हुने उनले बताए।
महर्जन भन्छन्, “मानिसहरु स्मार्ट हुँदैछन् र निकै जान्ने पनि छन्, तर आफ्नै खाताबाट भन्दा हाम्रो जस्तो साईबर बुथबाट कारोबार गर्दा केहि हदसम्म जति कारोबार हुनुपर्ने हो त्यो सङ्ख्या सिमित हुने गर्दछ। यसको मुख्य कारण पैसा लोड गर्ने तरिकामा रहेको अस्पष्टता र जटिलता हो, त्यस माथि आजकलका मानिसहरुसित समय नै कहाँ छ र? मलाई लाग्छ अबको र भविष्यको समयमा नगदरहित कारोबार गर्ने नै हो भने यो माध्यमको बानी व्यक्तिगत रुपमा अभ्यास गर्नु पर्दछ।”
मानिसहरुले नगद पैसा रहित कारोबारको प्रक्रिया र फाईदा बुझिसकिसकेका छन् र अब अभ्यासको पालो रहेको छ । सर्वप्रथम त्यसका लागि कारोबार गर्ने दुवै पक्षको नगद बिना कारोबार गर्नसक्ने समान वातावरण हुनुपर्यो। त्यसर्थ जहिले देखी बैँक र अरु सर्भिस कम्पनीहरुमात्र नभई खुद्रा व्यापारी देखि व्यक्तिगत खाताहरुबाट कारोबार संचालन हुन्छ, तब मात्रै कुनै असहजता बिना नगदरहित कारोबार सम्भव हुनेछ ।
यस्तै, काठमाण्डौँ विश्वविद्यालयकी छात्रा मानषी पराजुलीले विगत एकवर्ष देखि अनलाईन भुक्तानी सेवाहरु प्रयोग गर्दै आईरहेकी छिन्। उनी खास गरी साथीभाईहरुमाझ पैसा लेनदेन गर्न र मोबाइल रिचार्ज गर्न क्यासलेस माध्यम प्रयोग गर्छिन्। उनका अनुसार यस विधिले कसैलाई पैसा फिर्ता गर्ने अवस्था र अरु कारोबारमा नगदपैसा बोकेर हिँड्नुपर्ने असहजतालाई सहजतामा परिणत गरेको बताउँछिन्। “मेरो धारणा यस माध्यमलाई लिएर सकारात्मक भए पनि मेरो यसै सम्बन्धित घटनाले यस माध्यममा पूरै भर पर्न नहुने पाठ सिकाएको छ। मैले एक चोटि निकै नराम्ररी हतारको बेला कियोस्क बाट पैसा लोड गर्दा पैसा मेसिन भित्र गएपनि मेरो खातामा लोड नभएर तुरन्तै पैसा तिर्नु पर्ने अवस्थामा पैसा तिर्न असफल भएको छु।” उनले सुनाईन्।
साथै, बजारमा अहिले यस्ता धेरै नयाँ कम्पनीहरु आएकाले र कुनै एकमा मात्रै निर्भर रहनु नपर्ने भएको कारणले आफ्नो अनुकूल सुविधालाई ध्यानमा राखेर पेमेन्ट सेवा प्रदायक कम्पनी परिवर्तन गरेको अनुभव सुनाईन्। “भर्खरै मात्र सुरु भएको अनलाईन पेमेन्ट गेटवेका कम्पनीहरुले जुन गतिमा नगदरहित कारोबार सम्हालेका र फैलाएका छन्, त्यसै गति एवम् विस्तारको अनुमान भविष्यमा लगाउने हो भने पक्कै पनि नगद रहित कारोबार सम्भव छ,” पराजुली थप्छिन्।
त्यस्तै, कुपण्डोल निवासी रिमा तामाङ्ग गृहिणी हुन् र उनी कुनै पनि अनलाईन पेमेन्ट गेटवे प्रयोग गर्दिनन्। उनका अनुसार आफ्नो कामकाजमा उनलाई यस माध्यमको खासै जरुरत महसुस भएको छैन। र यस माध्यमबाट पैसा तिर्न आफुलाई त्यति सहज नलाग्ने उनले बताइन्। उनि भन्छिन्, “हाम्रो समाज र बजार अहिले पनि पुरानै ढाँचामा चलिरहेको छ। त्यसकारण पैसाको मामिलामा यस्तो परिवर्तनमा जम्न अलि सम्भव देख्दिन म। किनभने एक-दुई जनाले मात्र प्रयोग गरेर मात्र भएन नि त, केहि नभए पनि कारोबार गर्ने दुबै पक्षले त प्रयोग गर्नु पर्यो र यो कुरा बजारमा शत प्रतिशत लागू गर्न गार्है छ।”
तपाईलाई के लाग्छ ? अरु देशमा जस्तै नेपालमा पनि निकट भविष्यमै यो अवस्था फेरिएला? के नगद पैसा नबोकी नै बजार किनमेल गर्न जाने दिन आउला ?
Cover Photograph: mnsvmag.com
Nic asia , rastiya banijya,nmb bank haru ko mobile banking bata fund load grni option garauna pryo
Chha ni. Tei bhayera ta Khalti aako.
Really a informative article. Thanks for helpful article.