1660-01-5-8888

कुनै पनि कारोबार सम्पन्न हुन दुई पक्षीय सम्झौता आवश्यक हुन्छ​। सानो भन्दा सानो किनमेल देखि ठूल्ठूला कारोबारहरुले एकमुष्ट रुपमा अर्थतन्त्र चलाएको हुन्छ​। त्यसमा पनि हरेक कारोबारको एउटा मूल्य हुन्छ जुन प्राय: नगद बाट नै तिरिन्छ​। अहिलेको बदलिँदो परिवेशमा नगदका विकल्प पनि अभ्यासमा आउन थालेका छन्। तर, तिनको चलन-चल्ति प्रयोगकर्ताको बानीको रुपमा विकास भएको छ त ? यस प्रश्नको जवाफले नगद पैसा बिना कारोबार सम्भव छ कि छैन भन्ने कुरा बताउँछ​।

स्वयम्भूमा पछिल्लो चार वर्ष देखि सफल रुपमा साइबर पसल चलाउँदै आएका सतिश महर्जनले आधिकारिक रुपमा नेपालको एक चल्तिमा रहेको पेमेन्ट गेटवेसँग आबद्व भ​एर आफ्नो ब्यापार धानिरहेका छन्। उनको चार वर्षको अनुभव अनुसार ग्राहकहरु क्यासलेस पेमेन्टतिर ढल्किरहेका छन्। र यो माध्यममा मानिसहरुको सजगता, विश्वास र अभ्यास सकारत्मक रुपमा परिवर्तन हुँदैछ​।

वर्तमान अवस्थामा उनको पसलमा दैनिक रुपमा रु. ९ हजार देखी १५ हजार सम्मको नगदरहित नै अनलाईन कारोबार हुने गर्दछ र त्यसमा पनि बिजुली र ल्यान्डलाईन फोनको बिलको मात्रा अरु भन्दा धेरै हुने उनले बताए।

महर्जन भन्छन्, “मानिसहरु स्मार्ट हुँदैछन् र निकै जान्ने पनि छन्, तर आफ्नै खाताबाट भन्दा हाम्रो जस्तो साईबर बुथबाट कारोबार गर्दा केहि हदसम्म जति कारोबार हुनुपर्ने हो त्यो सङ्ख्या सिमित हुने गर्दछ​। यसको मुख्य कारण पैसा लोड गर्ने तरिकामा रहेको अस्पष्टता र जटिलता हो, त्यस माथि आजकलका मानिसहरुसित समय नै कहाँ छ र​? मलाई लाग्छ अबको र भविष्यको समयमा नगदरहित कारोबार गर्ने नै हो भने यो माध्यमको बानी व्यक्तिगत रुपमा अभ्यास गर्नु पर्दछ​।”

मानिसहरुले नगद पैसा रहित कारोबारको प्रक्रिया र फाईदा बुझिसकिसकेका छन् र अब अभ्यासको पालो रहेको छ । सर्वप्रथम त्यसका लागि कारोबार गर्ने दुवै पक्षको नगद बिना कारोबार गर्नसक्ने समान वातावरण हुनुपर्यो। त्यसर्थ जहिले देखी बैँक र अरु सर्भिस कम्पनीहरुमात्र नभई खुद्रा व्यापारी देखि व्यक्तिगत खाताहरुबाट कारोबार संचालन हुन्छ​, तब मात्रै कुनै असहजता बिना नगदरहित कारोबार सम्भव हुनेछ ।

यस्तै, काठमाण्डौँ विश्वविद्यालयकी छात्रा मानषी पराजुलीले विगत एकवर्ष देखि अनलाईन भुक्तानी सेवाहरु प्रयोग गर्दै आईरहेकी छिन्। उनी खास गरी साथीभाईहरुमाझ पैसा लेनदेन गर्न र मोबाइल रिचार्ज गर्न क्यासलेस माध्यम प्रयोग गर्छिन्। उनका अनुसार यस विधिले कसैलाई पैसा फिर्ता गर्ने अवस्था र अरु कारोबारमा नगदपैसा बोकेर हिँड्नुपर्ने असहजतालाई सहजतामा परिणत गरेको बताउँछिन्। “मेरो धारणा यस माध्यमलाई लिएर सकारात्मक भ​ए पनि मेरो यसै सम्बन्धित घटनाले यस माध्यममा पूरै भर पर्न नहुने पाठ सिकाएको छ​। मैले एक चोटि निकै नराम्ररी हतारको बेला कियोस्क बाट पैसा लोड गर्दा पैसा मेसिन भित्र गएपनि मेरो खातामा लोड नभ​एर तुरन्तै पैसा तिर्नु पर्ने अवस्थामा पैसा तिर्न असफल भ​एको छु।” उनले सुनाईन्।

साथै, बजारमा अहिले यस्ता धेरै नयाँ कम्पनीहरु आएकाले र कुनै एकमा मात्रै निर्भर रहनु नपर्ने भएको कारणले आफ्नो अनुकूल सुविधालाई ध्यानमा राखेर पेमेन्ट सेवा प्रदायक कम्पनी परिवर्तन गरेको अनुभव सुनाईन्। “भर्खरै मात्र सुरु भ​एको अनलाईन पेमेन्ट गेटवेका कम्पनीहरुले जुन गतिमा नगदरहित कारोबार सम्हालेका र फैलाएका छन्, त्यसै गति एवम् विस्तारको अनुमान भविष्यमा लगाउने हो भने पक्कै पनि नगद रहित कारोबार सम्भव छ​,” पराजुली थप्छिन्।

त्यस्तै, कुपण्डोल निवासी रिमा तामाङ्ग गृहिणी हुन् र उनी कुनै पनि अनलाईन पेमेन्ट गेटवे प्रयोग गर्दिनन्। उनका अनुसार आफ्नो कामकाजमा उनलाई यस माध्यमको खासै जरुरत महसुस भ​एको छैन​। र यस माध्यमबाट पैसा तिर्न आफुलाई त्यति सहज नलाग्ने उनले बताइन्। उनि भन्छिन्, “हाम्रो समाज र बजार अहिले पनि पुरानै ढाँचामा चलिरहेको छ​​। त्यसकारण पैसाको मामिलामा यस्तो परिवर्तनमा जम्न अलि सम्भव देख्दिन​ म। किनभने एक-दुई जनाले मात्र प्रयोग गरेर मात्र भ​एन नि त​, केहि नभ​ए पनि कारोबार गर्ने दुबै पक्षले त प्रयोग गर्नु पर्यो र यो कुरा बजारमा शत प्रतिशत लागू गर्न गार्है छ​।”

तपाईलाई के लाग्छ ? अरु देशमा जस्तै नेपालमा पनि  निकट भविष्यमै यो अवस्था फेरिएला? के नगद पैसा नबोकी नै बजार किनमेल गर्न जाने दिन आउला ?

Cover Photograph: mnsvmag.com