Digital Payment for Financial Inclusion

वित्तीय साक्षरतादेखि वित्तीय सक्षमतासम्म

वित्तीय साक्षरतालाई ‘वित्तीय सचेतना’ तथा ‘वित्तीय शिक्षा’ जस्ता नामले पनि सम्बोधन गर्ने गरिन्छ । सामान्य अर्थमा वित्तीय क्षेत्र तथा कारोबारका विविध आयामसम्बन्धी सामान्य ज्ञान वा आधारभूत अवधारणा नै वित्तीय साक्षरता (सचेतना र शिक्षा) हो । वित्तीय साक्षरताले पैसाको महत्व बुझेर यसको उचित तथा प्रभावकारी व्यवस्थापन गर्ने शिक्षा तथा सीप प्रदान गर्छ । जनसंख्याको ठूलो हिस्सा गरिब तथा अशीक्षित हुनुका साथै वित्तीय सेवाको पहुँचबाट वञ्चित रहेको नेपालजस्तो मुलुकमा, सामान्य नागरिकलाई बैंकिङ तथा वित्तीय सेवाको उपभोगप्रति अभ्यस्त र विश्वस्त तुल्याउनसमेत वित्तीय साक्षरता अत्यन्त आवश्यक छ । व्यक्तिसँग भएको सीमित स्रोत तथा साधनको प्रभावकारी उपयोग गरी दिर्घकालीन आर्थिक उन्नति गर्ने सीप र कला प्रदान गर्नु वित्तीय साक्षरताको लक्ष्य भएकाले, वित्तीय साक्षरताले उपलब्ध वित्तीय सेवाको प्रभावकारी उपयोग कसरी गर्ने भन्ने विषयका अतिरिक्त निक्षेप तथा कर्जा परिचालन, ब्याज भुक्तानीका साथै बैंक तथा वित्तीय संस्थाको काम, कर्तव्य र अधिकारका सम्बन्धमा समेत जानकारी दिन्छ ।

वित्तीय साक्षरताले आधुनिक सूचना–प्रविधिमा भएको विकाससँगै विद्युतीय माध्यमले गरिने वित्तीय कारोबारले ल्याएको सहजतासँगैज टिलता र चुनौतीलाई समेत आत्मसात् गर्दै विद्युतीय उपकरणहरूमा अन्तर्निहित जोखिमलाई व्यवस्थापन गर्नसमेत सिकाउँछ, जसले गर्दा सर्वसाधारणलाई सामान्य बैंकिङ प्रक्रिया र नियमहरू नजानेर आफू ठगिने वा अनाहकमा दुख÷झन्झट बेहोर्नुपर्ने परिस्थितिको अन्त्य हुन्छ । त्यस्तै सम्पत्तिको वैधता, मितव्ययिता, व्यक्तिगत बजेट, खर्चको प्राथमिकता, बचत, उद्यमशीलता, बिमा तथा सुरक्षणलगायतका विविध विषयहरू वित्तीय साक्षरताअन्तर्गत पर्छन् ।

हालका दिनमा नेपालका बैंक तथा वित्तीय संस्थाहरूले ‘वित्तीय साक्षरता’ सम्बन्धी कार्यक्रमलाई उच्च महत्व दिएका छन् । विगत करिब एक दशकदेखि नेपालमा ‘वित्तीय साक्षरता’ को महत्व तथा आवश्यकताका बारेमा बहस हुँदै आइरहे तापनि आर्थिक वर्ष ०६८÷६९ को मौद्रिक नीतिमा ‘वित्तीय साक्षरता न्यून रहेको कारणबाट वित्तीय सेवा प्रभावकारी हुन नसकेको तथ्यलाई दृष्टिगत गरी यससम्बन्धमा आवश्यक रणनीति तयार गर्ने’ भनेर यसको महत्वलाई औपचारिक रूपमा स्वीकार गरिएको हो । तत्पश्चात्का प्रायः सबै मौद्रिक नीतिमा ‘वित्तीय चेतना कार्यक्रमलाई महत्वका साथ सञ्चालन गर्ने’ भनेर उल्लेख गरिएको छ । त्यस्तै तत्कालीन गभर्नर (वर्तमान अर्थमन्त्री) डा. युवराज खतिवडाले २०६९ चैत ८ गते ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ नामक कार्यक्रम घोषणा गरे, जसको प्रमुख उद्देश्य विद्यार्थीहरूमा वित्तीय चेतना अभिवृद्धि गर्नु थियो । तत्पश्चात् नेपाल राष्ट्र बैंकले समेत वित्तीय पहुँच तथा वित्तीय साक्षरता अभिवृद्धिलाई उच्च महत्व दिँदै सबै बैंक तथा वित्तीय संस्थालाई ‘वित्तीय साक्षरता’ सम्बन्धी कार्यक्रम प्रमुखताका साथ सञ्चालन गर्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकाको निर्देशन नं. २२ (१२) मा (क) इजाजतपत्र प्राप्त संस्थाले आफ्ना कार्यक्रमहरूमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम अनिवार्य रूपमा समावेश गरेको हुनुपर्छ, (ख) इजाजतपत्र प्राप्त संस्थाले आफूले प्रदान गर्ने वित्तीय सेवा–सुविधाका सम्बन्धमा सर्वसाधारणलाई सुसूचित गराउने व्यवस्था गर्नुपर्नेछ, (ग) वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय प्रणालीलाई सघाउ पु¥याउने खालका विज्ञापन तथा सूचनाहरूलाई प्रोत्साहित गर्नुपर्नेछ भन्ने व्यवस्था गरेको छ । त्यस्तै निर्देशन नं. १०(१६) मा “बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यमा थप क्रियाशील हुन आफ्नो हरेक आर्थिक वर्ष खुद मुनाफाको कम्तीमा १ प्रतिशत रकम छुट्ट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोष खडा गरी जम्मा गर्नुपर्नेछ’ भन्ने व्यवस्था गरेको छ । हालका दिनमा अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले यही कोष खर्च गरेर ‘वित्तीय साक्षरता’ सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।

विगतदेखि नै यस क्षेत्रमा गरिएका विवध प्रयासको फलस्वरूप आजको दिनसम्म आइपुग्दा साधारण नेपाली नागरिकको वित्तीय साक्षरता (सचेतना) मा उल्लेख्य सुधार भएको छ, तर के यो मात्र पर्याप्त छ त ? नेपालमा ‘वित्तीय साक्षरता’ अभिवृद्धि गर्ने दिशामा निकै कार्य भए तापनि ‘वित्तीय सक्षमता’ अभिवृद्धि गर्ने सन्दर्भमा सन्तोषजनक प्रगति हुन सकेको देखिँदैन । निश्चय नै वित्तीय सक्षमताका लागि वित्तीय साक्षरता एक अत्यावश्यक सर्त हो तर यो मात्र पर्याप्त भने होइन । अझै पनि अधिकांश मानिस ‘वित्तीय साक्षरता’ र ‘वित्तीय सक्षमता’ लाई एकै अर्थमा लिने गर्छन् । जबकि ‘वित्तीय साक्षरता’ सैद्धान्तिक अवधारणा हो भने ‘वित्तीय सक्षमता’ त्यसको व्यावहारिक प्रयोग हो । उदाहरणका लागि कुनै व्यक्तिमा पर्याप्त वित्तीय साक्षरता भए तापनि निजले वास्तविक जीवनमा सोअनुरूपको आचरण वा उक्त ज्ञानको व्यावहारिक प्रयोग नगर्न सक्छ । कसैले ‘हामीसँग भएको सीमित स्रोत तथा साधन दुरुपयोग (जाँड, रक्सी वा जुवातास) नगरेर आयमूलक कार्यमा उपयोग गर्नुपर्छ’ भनेर प्रवचन दिन सक्छ, तर सोही व्यक्ति आफैं उक्त कार्यमा संलग्न भएमा उसमा ‘वित्तीय साक्षरता’ भए तापनि ‘वित्तीय सक्षमता’ भएको मानिँदैन। त्यसैले ‘वित्तीय साक्षरता’ भएको व्यक्तिमा ‘वित्तीय सक्षमता’ हुन्छ नै भन्ने हुँदैन ।

सामान्य अर्थमा ‘वित्तीय सक्षमता’ भन्नाले कुनै पनि व्यक्तिको वित्तीय सेवामा पहुँच र उपभोग गर्न सक्ने अवसरहरूको उपलब्धताबीच, निजको प्रवृत्ति, ज्ञान, क्षमता र आवश्यकतानुसार, जीवनको विशिष्ट परिस्थितिमा उपयुक्त र दीर्घकालीन वित्तीय निर्णय लिन र अभ्यास गर्नका लागि आवश्यक व्यावहारिक सीप तथा दक्षता हो । उपलब्ध सबै अवसरहरूको बीचवाट कुनै व्यक्तिले कस्तो सेवाको छनोट गर्छ वा जुन प्रकारको वित्तीय व्यवहार गर्छ, त्यसले नै उसको वित्तीय सक्षमताको स्तर निर्धारण गर्ने हुनाले, वित्तीय सक्षमता व्यक्तिको व्यवहारका आधारमा मापन गरिन्छ, न कि उसको ज्ञानको आधारमा । अर्को अर्थमा वित्तीय साक्षरताको व्यावहारिक प्रयोग नै वित्तीय सक्षमता हो । वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरूले मानिसहरूको वित्तीय साक्षरता (ज्ञान) मात्र बढाए, तर वित्तीय व्यवहारमा तात्विक परिवर्तन ल्याउन नसकेको निष्कर्षसहित सन् २००३ मा बेलायतबाट वित्तीय सक्षमताको अवधारणाको सुरुवात भएको पाइन्छ । वित्तीय सक्षमताले मानिसहरूको वित्तीय व्यवहार (कार्य) मा बढी जोड दिने हुनाले वित्तीय साक्षरता तथा वित्तीय सक्षमता फरक–फरक अवधारणाका रूपमा रहेका छन् । वित्तीय सक्षमताको प्रमुख उद्देश्य भनेकै व्यक्तिमा निहित वित्तीय साक्षरताको व्यावहारिक प्रयोगमार्फत निजको वित्तीय व्यवहार÷कार्यलाई प्रभावित गर्नु हो । तसर्थ वित्तीय साक्षरता पूर्णतया ‘सैद्धान्तिक अवधारणा’ हो भने वित्तीय सक्षमता ‘प्रयोगात्मक अवधारणा’ हो ।

अन्त्यमा, वित्तीय सक्षमताका लागि व्यक्तिमा वित्तीय साक्षरतासँगै अन्य आवश्यक तत्वहरू, जस्तै— वित्तीय सेवाको उपलब्धता, वित्तीय सेवामा पहुँच, वित्तीय सेवाको प्रभावकारिता, उपलब्ध वित्तीय सेवा उपभोग गर्न सक्ने क्षमता आदिसमेत हुनुपर्छ । उत्तरदायी वित्तीय सेवा, वित्तीय ग्राहक संरक्षण, सामाजिक प्रबन्धन व्यवस्थापन (सोसल पर्फमेन्स म्यानेजमेन्ट), वित्तीय साक्षरता, संस्थागत सामाजिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा आदि वित्तीय सक्षमताका अभिन्न अंगका रूपमा रहेका हुन्छन् । हाल नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थाहरू वित्तीय साक्षरतामा मात्र केन्द्रित रहेका र वित्तीय सक्षमताका अन्य अवयवहरूका बारेमा खासै चासो नराखेको देखिएको छ । तसर्थ ‘वित्तीय साक्षरता’ को गन्तव्य ‘वित्तीय सक्षमता’ हुन सकेन भने यो अनुपयोगी ‘घोकन्ते विद्या’ मात्र हुने जोखिम बढेर जान्छ ।

अनन्त सदावहार

This article was originally published at Karobar daily. It has been republished here for reference purpose only.

Facebook Comments
वित्तीय साक्षरतादेखि वित्तीय सक्षमतासम्म

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *