1660-01-5-8888

मोबाइल एप्लिकेसनबाट पैसा जम्मा गरेर विभिन्न कारोबार गर्न सकिने सुविधालाई मोबाइल वालेट भनिन्छ । जसरी तपाइले तपाइको पर्स (वालेट)मा पैसा बोकेर हिड्नु हुन्छ त्यसरी नै मोबाइल वालेटलाई मोबाइलमा भएको तर पर्सले जस्तो काम गर्ने एप्लिकेसनको रूपमा प्रयोग गर्न सकिन्छ । नेपालमा विभिन्न बैङ्कहरूले बैंङ्किङ सेवाहरू मोबाइल एप्लिकेसनबाट पनि  प्रयोग गर्न मिल्ने बनाएका छन्। बैंकले प्रदान गर्ने यस्तो सेवालाई चाहिँ मोबाइल बैङ्किङ भनिन्छ । साथै अचेल नेपालमा इ-सेवा, खल्ती, जस्ता मोबाइल वालेट पनि उपलब्ध छन्। चलाउन सजिलो तथा घरमा बसेरै काम गर्न सकिने भएकाले यसको प्रयोग बढ्दैछ । धेरैलाई बैङ्क सम्म पुग्न गाह्रो हुने तथा एक अर्कालाई पैसा पठाउन सकिने यसका प्रमुख विशेषताहरू हुन् । पैसा पठाउन, मोबाइल रिचार्ज गर्न, अनि त्यस्तै विभिन्न प्रायोजनका लागि रकम बोकेरै हिड्नु पर्ने झन्झट हुँदैन ।

फाइदाहरू के के छन् ?

  • आफ्नो खातामा पैसा कति छ भनेर जाँच गर्न सकिन्छ । यतिमात्र हैन आफूले गरेको कारोबारको जानकारी पनि मोबाइलबाटै पाउन सकिन्छ ।
  • हातमा भएको पैसा लगेर राख्ने बाहेक पैसाको कारोबारको लागि बैङ्कसम्म पुगिराख्नु पर्दैन । जस्तै यदि कसैलाई पैसा पठाइदिनुपर्ने भएमा एउटा म्यासेज गरेर पठाउन सकिन्छ ।
  • पानी तथा बिजुलीको पैसा तिर्ने सकिन्छ ।
    • तर ठाउँ हेरेर यो सेवा फरक पनि हुन सक्छ । मोबाइल तथा इन्टरनेटको बिल तिर्न, ल्याण्डलाईन फोनको तथा डिसहोमको बिल तिर्न  र अनलाइन सपिङ गर्न पनि सकिन्छ ।
  • खातामा भएको कारोबारको जानकारी पनि सिधै मोबाइलमा आँउछ । यदि तपाईँले पैसा निकाल्नुभयो भने यति पैसा निकाल्नुभयो भनेर मोबाइलमा म्यासेज आँउछ । यसले पैसा चोरी हुनबाट पनि बचाउँछ । यदि कसैले तपाईँको पैसा निकालेको पाइएमा कानुनी कारबाही गर्न पनि सकिन्छ ।
  • बैङ्कहरूमा रकम पठाउन, विदेशबाट पठाएको रकम पाउन, आदि विभिन्न सुविधा पाउन सकिन्छ ।

मोबाइल वालेट र मोबाइल बैङ्किङ सेवा कसरी लिने ?

  • यो सेवा भएका हरेक बैङ्कहरूले खाता खोल्नुभन्दा पहिलानै यो सेवा लिने कि नलिने भनेर सोध्छन् । लिने भनेपनि एउटा फर्म भर्नुपर्छ । त्यसमा मोबाइल नम्बर समेत राखेर  भरेपछि उनीहरूले म्यासेज गरिदिन्छन् । त्यो म्यासेजमा कोड नम्बर पठाइदिएको हुन्छ ।
  • स्मार्ट फोनमा मोबाइल वालेटको एप्लिकेसन डाउनलोड गरेर राख्नुपर्छ ।
  • यदि मोबाइल वालेटको सुविधा लिने हो भने एप्लिकेसनमा गएर रजिस्ट्रेसन् (Registration) लेखेको ठाउँमा गएर दर्ता गर्न सकिन्छ वा वेबसाइटमा गएर दर्ता गर्न सकिन्छ ।

यो सुविधा लिनलाई कति पैसा लाग्छ ?

  • बैङ्कअनुसार पैसा पनि फरकफरक छ ।
  • सामान्यतया २५० रुपैयाँ लिने गरेका छन् जुन तपाईँको खाताबाट आफै कट्छ ।
  • यदि मोबाइल वालेट लिने हो भने दर्ता गरेको पैसा लाग्दैन, तर धेरै रकमको कारोबार गर्न भने तोकेको प्रक्रिया पूरा गर्नुपर्छ ।

कस्तो मोबाइल चाहिन्छ ?

  • एप्लिकेसन चलाउने हो भने स्मार्टफोन चाहिन्छ ।
  • सामान्तया फेसबुक चल्ने मोबाइलमा चलाउन सकिन्छ ।
    • प्राय सबै एप्लिकेसन एन्ड्रोइड फोनमा चलाउन सकिन्छ, कुनै कुनै एप्लिकेसन भने आइफोनमा नचल्न सक्छ ।
  • मोबाइलको प्ले स्टोरमा गएर एप्लिकेसन डाउनलोड गर्नुपर्छ ।

मोबाइल वालेट चलाउँदा ध्यान दिनुपर्ने कुराहरू :

  • आफ्नो मोबाइल लक् गरेर राख्नुहोस, तपाइको मोबाइल वालेटको गलत प्रयोग हुनबाट जोगाउनुहोस् ।
  • मोबाइल वालेटको पिन कसैलाई नदिनुहोस र समय समयमा पिन परिवर्तन गरिरहनुहोस् ।
  • आफूले प्रयोग गर्ने इमेल वा फोन नम्बरको प्रयोग गरेर मोबाइल वालेटको सुविधा लिनुहोस् ।

यो लेख शुभयात्रा (shuvayatra.org) बाट साभार गरिएको हो ।