चर्चामा तीन व्यवसाय

नयाँ व्यवसाय सुरु हुनु आफैंमा नौलो होइन । नाफाका लागि व्यवसाय खोलिन्छन् । तर, केही व्यवसाय यस्ता हुन्छन् जसले नाफा मात्र नदिएर हजारौं मानिसको जीवनमा सहजता थपिदिन्छन् ।
विभिन्न देशमा सुरु हुने यस्तै व्यवसायलाई समेटेर हरेक वर्ष गुगल बिजनेस ग्रुप (जीबीजी) ले केही व्यवसायको सूची सार्वजनिक गर्छ जसलाई नाम दिइएको छ– गुगल स्टोरिज सर्च । यी व्यवसायहरू प्रविधिको प्रयोग र अन्य व्यक्तिहरूमा पार्ने प्रभावको आधारमा चयन गरिन्छन् । यो वर्ष सार्वजनिक भएका ९ व्यवसायको सूचीमा नेपालका तीन स्टार्टअप परेका छन् ।
जीबीजी स्टोरिज सर्चको सूचीमा नेपालका ३, इन्डोनेसिया र फिलिपिन्सका २–२, थाइल्यान्ड र मोरोक्कोका १–१ नयाँ खालका व्यावसायिक कम्पनी छन् । यसबाट एकलाई कम्युनिटी भोटिङबाट १ र गुगल जजबाट ३ कम्पनीको फाइनल सूची शुक्रबार घोषणा हँुदै छ । यस्ता छन्, नेपाली कम्पनी :
खालीसिसी

खालीसिसीले स्थापनाको चार महिनाभित्र चक्रपथभित्र र वरपरका क्षेत्रबाट १५ हजार केजी बढी खालीसिसी, १५ सय केजी बढी पुराना पत्रिका, ५ सय केजी फलाम र स्टिल र २ सय केजी ज्यादा प्लास्टिक किनेको छ । यस्ता रिसाइकल गर्न मिल्ने खालका फोहोर किन्ने व्यक्तिहरू घरघरमा आउने भए पनि आफूलाई पायक पर्ने समयमा सामान किन्ने मानिसलाई बोलाउन मिल्ने नै खाली सिसीको विशेषता हो ।

संस्थापक आयुषा केसीका अनुसार यस्ता सामग्री घरघरमा गएर किन्ने व्यक्तिहरूलाई नै खालीसीसीले आफ्नो सम्पर्कमा ल्याएको छ । अहिलेसम्म १५० बढी संकलक कम्पनीको सम्पर्कमा छन् र उनीहरूलाई नै प्रयोग गरी चक्रपथभित्र र केही परसम्मका सामग्रीहरू संकलन गरिन्छ ।

‘सबैको घरमा यस्ता सामग्री हुन्छ जुन हामी बिक्री गर्न चाहन्छौं,’ केसी भन्छिन्, ‘तर आफूलाई पायक पर्ने समयमा किन्ने मानिस बोलाएर बिक्री गर्दा सजिलो हुन्छ ।’ काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट बीबीए सकेकी केसीले आफू अमेरिका भ्रमणमा गएका बेला त्यहाँको फोहोर व्यवस्थापन प्रणाली देखेर प्रभावित भई यस्तो व्यवसाय सुरु गरेको बताउँछिन् ।

स्थापनाको छोटो समयमै खालीसीसी चर्चित बनेको छ । फोहोर किन्न आइदिनुपर्‍यो भनी दैनिक ८–१० अनुरोध आउने केसी बताउँछिन् । आफ्नो घरबाट पुन: प्रयोगयोग्य फोहोर बिक्री गर्न चाहनेले यसको वेबसाइट वा फेसबुक पेज वा फोनमा सम्पर्क गरी समय मिलाउन सक्छन् । खालीसीसीले आफूले किनेको यस्ता रिसाइकल गर्न मिल्ने खालका फोहोर सोझै बिक्री गर्छ । ‘हामीसँग यस्ता फोहोर राख्ने गोदाम छैन । त्यसैले घरघरबाट किनेका फोहोर बिक्री गर्छौं,’ आयुषा भन्छिन्, ‘पुनप्र्रयोग गर्नका लागि किन्नेहरूलाई पनि उपलब्ध गराउँछौं ।’

खालीसीसीमा आबद्ध फोहोर संकलकहरूको आम्दानी पनि ३० प्रतिशत वृद्धि भएको केसीले बताइन् । भन्छिन्, ‘उहाँहरू पहिले घरघरमा खोज्दै जाँदा कति दिनसम्म बिक्री गर्ने मानिस नभेट्ने पनि हुन्थ्यो तर अहिले हामीसँग आएको अनुरोधका आधारमा उहाँहरूलाई घरघरमा पठाउँछौं ।’ व्यावसायिक रूप दिँदा फोहोर संकलन गर्नेहरूको सम्मानमा पनि वृद्धि भएको उनको बुझाइ छ । आफ्नो नेटवर्कलाई वृद्धि गर्दै लैजाने खालीसीसीको योजना छ ।

खल्ती डटकम

मोबाइल वालेटका रूपमा सुरु गरिएको खल्ती डटकम वेब र एप दुवै भर्सनमा उपलब्ध छ । ७ महिनाअघि सुरु भएको खल्ती डटकमका अहिले ४० हजार प्रयोगकर्ता पुगेको प्रबन्ध निर्देशक मनीष मोदीले बताए ।

खल्ती डटकम एन्ड्रोइड स्टोरबाट मात्रै ८० हजार डाउनलोड भएको छ । ‘डिजिटल वालेट र क्यासलेट सिस्टमलाई वृद्धि गर्न खल्ती डटकम सुरु गरेका हौं,’ मनीष भन्छन्, ‘यसले पैसाको कारोबारलाई सहज बनाउँछ ।’ खल्तीमार्फत कारोबार गर्न तीन बैंकबाट रकम राख्न मिल्छ । अन्य बैंकहरूसँग पनि सहकार्यका लागि प्रक्रिया भइरहेको मनीषले बताए ।

खल्तीबाट इन्टरनेट, फोन, डिसटीभी, बिजुलीको बिल तिर्न मिल्छ । फ्लाइट टिकट र मुभी टिकट बुकिङ गर्न पनि मिल्छ । खल्तीले अहिले यस्तै प्रयोजनका लागि चलनचल्तीमा रहेको ई–सेवा, आइपेजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्छ ।

डिजिटल वालेटको प्रयोगलाई सहज र सुरक्षित बनाएर मन जित्ने मनीष बताउँछन् । भन्छन्, ‘प्रतिस्पर्धा भए पनि प्रयोगकर्तालाई खल्तीको प्रयोग सजिलो र सुरक्षित बनाएर मन जित्नेछौं ।’ खल्तीले अहिले आफ्नो सुविधाको सामाजिक सञ्जालमार्फत प्रचारलाई पनि तीव्र पारेको छ ।

पेमेन्ट गेट–वेको सहजताले मानिसलाई बैंकिङ प्रणालीसँग जोडिन र सरकारले महत्त्व दिएको क्यासलेस कारोबारलाई पनि सहयोग पुग्ने मनीषको विचार छ । ‘यस्ता प्रणालीमा जोडिन आउने प्रयोगकर्ताहरू बैंकिङ प्रणालीसँग पनि जोडिन्छन्, जसले क्यासलेस कारोबार वृद्धि गर्न मद्दत पुग्छ । यो सुरक्षित र सहज पनि हुन्छ,’ उनले भने । मनीष संलग्न रहेको कम्पनी इस्प्यारो एसएमएस यसअघि जीबीजीमा अन्तिम सूचीमा पुगेको थियो ।

इको सेल

नेपालमा २ वर्षअघि वैशाख १२ गते गएको भूकम्पले ५ लाख बढी घर ध्वस्त भएको थियो भने करिब तीन लाख घरमा क्षति पुगेको थियो । भूकम्पका बेला राहत बाँड्न सिन्धुपाल्चोक, दोलखा र गोरखासम्म पुगेका निशान चण्डी र उनका साथीले गाउँगाउँमा घरहरू भत्किएको देखेका थिए । एमबीए अन्तिम सेमेस्टरमा पढिरहेका चण्डी र उनका तीन साथी मिलेर इको सेल इन्डस्ट्रिज नाम दिएर उद्योग खोले ।

इको सेलले थाई प्रविधिमार्फत सिमेन्ट र अन्य सामग्री प्रयोग गरी इँटा बनाउँछ जसलाई आपसमा लक गरेर घर बनाउन सकिन्छ । यो इँटा भूकम्प र अन्य प्राकृतिक प्रकोप प्रतिरोधी हो । यो इँटाको प्रयोगमा प्लास्टरको आवश्यकता नपर्ने चण्डी बताउँछन्, ‘यसरी घर बनाउँदा ३० प्रतिशतसम्म लागत कम हुन्छ ।’ यो इँटा पानीमा भिजाएर बनाइने भएकाले वातावरणमैत्री भएको पनि उनले बताए ।

उनका अनुसार भूकम्प गएको तीन महिनापछि इन्टरनेटमा खोजेर यस्तो उद्योग स्थापनाको आइडिया फुरेको हो । ‘पहिला हामी गैरप्राविधिक विषय पढेका साथीहरू मिलेर स्थापना गरेका थियौं, अहिले हाम्रो समूहमा इन्जिनियर साथीहरू पनि छन् । काम गर्न सजिलो भएको छ,’ उनले भने, ‘बनेपामा इँटा उत्पादन गर्न फ्याक्ट्री स्थापना गरेका छौं । नजिकका जिल्लाबाट अर्डर आउँदा फ्याक्ट्रीमा इँटा बनाएर बिक्री गर्छौं । टाढाको अर्डरमा त्यहीं गएर बनाइदिन्छौं ।’

इँटा बनाउँदा उनीहरू सिमेन्टबाहेक स्थानीयस्तरमै उपलब्ध बालुवालगायत सामग्री प्रयोग गर्छन् । र, स्थानीयलाई इँटा जोड्ने तरिका पनि सिकाउँछन् । ‘सिकेपछि जोसुकैले पनि आफैं इँटा जोडेर घर बनाउन सक्छन्,’ चण्डीले भने । सिन्धुपाल्चोक र दोलखामा आफ्नो इँटाको माग धेरै भएको उनले बताए । इको सेलको इँटाबाट ३५ वटा घर बनिसकेको छ ।

– विजय तिमल्सिना

This article was originally published at Kantipur Daily on September 15, 2017. Read the original article here.

Facebook Comments
चर्चामा तीन व्यवसाय

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *