नगदबिना मोबाइलबाटै कारोबार गर्न मिल्ने प्रविधि ‘खल्ती’ लोकप्रिय बन्दै

नगद नबोकी कारोबार गर्न सकियोस् भन्ने उद्देश्यले २०१७ को जनवरीबाट नेपालमा भित्रिएकोे ‘खल्ती डिजिटल वालेट’ मोबाइल एप्लिकेशन लोकप्रिय बन्दै गइरहेको छ ।

‘खल्ती’ नामको यस एप्लिकेशनमा इन्टरनेट तथा बिजुलीको बिल भुक्तानी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको टिकट, रोजेको चलचित्रको टिकट, फोन, मोवाइल, डिसटीभी रिचार्जलगायत सुविधा छन् । यसरी ‘खल्ती’ले पैसा बोकेर हिँड्नुपर्ने झन्झटबाट छुट्कारा दिने भएको छ ।

जानकी टेकनोलोजी प्रालीले सार्वजनिक गरेको ‘खल्ती’ प्रभावकारी हुँदै गइरहेको कम्पनीका कार्यकारी निर्देशक मनिष मोदीले जानकारी दिनुभयो । मोबाइल नम्बरका आधारमा दर्ता गरी ‘खल्ती’को सदस्यता लिन सकिने तथा ई बैंकिङको सेवा लिइरहेका र नलिएकाले पनि मोबाइलको खल्ती वालेटमार्फत कारोबार गर्न सक्ने उहाँले जानकारी दिनुभयो ।

‘भारतसहित विश्वका विकसित देशहरुमा समेत डिजिटल वालेटको प्रयोग बढ्दै गएको छ । नेपालमा पनि यसको प्रयोग बढ्ने हाम्रो अपेक्षा छ’ मोदीले भन्नुभयो । मोबाइल वालेटका रूपमा सुरु गरिएको खल्ती डटकम वेब र एप दुवै भर्सनमा उपलब्ध छ । ११ महिनाअघि सुरु भएको खल्ती डटकमका अहिले ५० हजार प्रयोगकर्ता पुगेको निर्देशक मोदीले बताउनुभयो । खल्तीमार्फत कारोबार गर्न अहिले ५ बैंकसँग सहकार्य भएको र अरु बैंकहरूसँग सहकार्य बढाइने भएको छ ।

डिजिटल वालेटको प्रयोग सहज र सुरक्षित रहेको कम्पनीको दाबी छ । पेमेन्ट गेट–वेको सहजताले बैंकिङ प्रणालीसँग जोडिन तथा सरकारले महत्व दिएको नगदरहित कारोबारलाई पनि सहयोग पुग्ने निर्देशक मोदीको धारणा छ ।

गुगलले समेत यस वर्षको ग्लोबल गुगल बिजनेश ग्रुप स्टोरी कन्टेस्ट विजेताको रुपमा नेपालको डिजिटल वालेट खल्तीलाई छनोट गरेको छ । गुगल प्रयोग गरी आफ्नो व्यवसाय वा केही उदाहरणीय काम गर्ने व्यक्ति र कम्पनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष गुगलले यो प्रतिष्पर्धा गराउने गरेको छ ।

डिजिटल वालेट खल्तीको कारोबारलाई बैधानिक बनाउन नेपाल राष्ट्रबैंकसँग स्वीकृतीका लागि प्रक्रिया चलिरहेको र आशयपत्र पाइसकेको निर्देशक मोदीले बताउनुभयो ।

This article was originally published at Ujyalo Online on Nov 21, 2017. Read the original article here.

Facebook Comments
नगदबिना मोबाइलबाटै कारोबार गर्न मिल्ने प्रविधि ‘खल्ती’ लोकप्रिय बन्दै

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *