Khalti Digital Wallet_Coverage in Nepal Magazine

स्टार्टअपले बदलेको व्यापार

सुविधासम्पन्न गाडी । ६ अंकमा आम्दानी । चार वर्षमा तीनपटक पदोन्नति । नेपाल इन्भेस्टमेन्ट बैंकमा काम गरिरहेका शिक्षित भट्ट, ३८, आर्थिक रूपमा सन्तुष्ट थिए । तर, आफैँले नेतृत्व लिएर व्यवसाय गर्ने लालसाले उनले जागिर छाडे । अनि, जन्माए एक महत्त्वाकांक्षी स्टार्टअप परियोजना ।

काठमाडौँको ट्राफिक जामलाई केही नयाँ गर्ने अवसरका रूपमा लिए उनले । त्यसैले यात्रु र मोटरसाइकल चालकबीच मोबाइल एप्लिकेसनका माध्यमबाट समन्वय गराई कुनै पनि ठाउँमा शीघ्र र सुरक्षित रूपमा पुग्न सकियोस् भन्ने उद्देश्यले आइडिया निकाले, ‘टुटल’ । त्यसबाहेक बाइकवालाका लागि यो सेवा आम्दानीको स्रोत पनि बनिदियो । भट्ट भन्छन्, “हामीमाझ उपलब्ध स्रोतसाधनको उपयोग गर्दै देश विकासमा टेवा दिन सकिन्छ भन्ने लाग्यो ।”

गुगल प्लेस्टोरबाट टुटल एप्लिकेसन ५० हजारभन्दा बढी डाउनलोड गरिएको छ । लिफ्ट दिएबापत मोटरसाइकल चालकले क्यास अथवा टुटल अकाउन्टमा यात्रुबाट केही रकम प्राप्त गर्छन् । धेरैले यसैलाई आयआर्जनको स्रोत बनाएका छन् । “टुटलबाट मासिक ४५ हजारसम्म कमाउने चालक पनि छन्,” भट्टले सन्तुष्टि साटे ।

०७२ को नाकाबन्दीका बेला सुमना श्रेष्ठले फेसबुकमा कारपुल काठमाडौँ नामक ग्रुप सञ्चालन गरिन् । लिफ्ट लिन र दिन चाहनेले आफ्नो गन्तव्य र रुट पोस्ट गर्थे । विवरण मिलेको खण्डमा गाडी भएकाले नभएकालाई लिफ्ट दिन्थे । पछि यसको मोबाइल एप्लिकेसन पनि आयो । तर, धेरै चल्न सकेन ।

कारपुल काठमाडौँको मुख्य समस्या थियो, यात्रु सुरक्षा । चालकको रुट ट्रयाक गर्न मिल्दैनथ्यो । यसैलाई शिक्षितले चुनौतीका रूपमा लिए । त्यसैले टुटलमा चालकको लोकेसन ट्रयाक गर्न मिल्ने अवधारणा ल्याए । भट्टलाई यो प्रणाली अन्य यातायात सेवाले पनि अवलम्बन गरून् भन्ने थियो । भन्छन्, “बस यात्रुलाई पनि सहज होस् भनी यस्तै ट्रयाकिङ प्रणाली केही बस सेवालाई बेच्न खोजेँ । तर, कसैले रुचि देखाएनन् ।”

चालकको रुट ट्रयाक गरी यात्रु सुरक्षालाई प्राथमिकतामा राख्न ‘सारथि’ पनि तत्पर देखिएको छ । पहिले फोनबाटै दिनको पाँच हजारसम्म ट्याक्सी बुकिङ रिक्वेस्ट लिने सारथि अब मोबाइल एप्लिकेसन ल्याउने क्रममा छ । भनेको ठाउँमा ट्याक्सी नपाइने र जान नमान्ने, अझ कतिपय अवस्थामा मिटरमा जान नमानेर बार्गेन गर्नुपर्ने । यस्ता समस्या भोग्ने धेरै थिए, समाधान खोज्ने निकै कम । यस्तै समाधान खोज्नेमा एक हुन्, प्रकाश न्यौपाने, २९ । विदेशतिर उबर, ओलाजस्ता क्याब सेवाले प्रचुर ख्याति कमाइरहँदा नेपालमा एड्डी क्याबजस्ता सेवा फस्टाउने क्रममा थिए । “प्रतिस्पर्धी मानिनँ एड्डी क्याबलाई, समकक्षीका रूपमा लिएँ । हामी दुवैको उद्देश्य क्याब सेवा सहज बनाउनु थियो,” न्यौपानेले अनुभव सुनाए ।

ट्याक्सी चाहिएको खण्डमा अनलाइन सेवाबाट मगाउनुभन्दा बाटोमा गएर पर्खन रुचाउने धेरै छन् । पुरानो पुस्ता मोबाइलमैत्री पनि छैन । सम्भाव्यता अध्ययन गर्दा यस्ता चुनौती अनुमान गरेका न्यौपानेलाई निरुत्साहित गर्ने पनि धेरै भेटिए । सुनाउँछन्, “सबैको कुरा सुनेँ तर मन लागेको गरेँ ।” यसअघि उनैद्वारा सञ्चालित नेपफ्लाइट्स नामक स्टार्टअपको अनुभवले पनि उनलाई सघायो । ट्वीटरमा लाखौँ फलोअर्स भएका लेखक बुद्धिसागरले सारथिबारे ट्वीट गरिदिएकाले पनि धेरैलाई यसको जानकारी हुन गएको प्रकाश बताउँछन् ।

Prakash Neupane
Prakash Neupane

यस्ता मोबाइल एप्लिकेसनमा हुने साझा फिचर हो, लोकल भुक्तानी माध्यम । सिंगो विश्व नै क्यासलेस भइरहँदा नेपालमा भने नगदरहित भुक्तानी माध्यमको प्रयोग सहज छैन । टुटल वा सारथि नै प्रयोग गर्नुपर्‍यो भने पनि हामी नगदमै कारोबार गर्न रुचाउँछौँ । यही समस्याको समाधानका रूपमा ईसेवा, खल्तीजस्ता स्टार्टअप आए । नेपालमा हुँदै नभएको उद्योग सिर्जना गर्न ईसेवालाई गाह्रो थियो भने त्यही लयमा आफ्नो छुट्टै पहिचान बनाउन खल्तीलाई । चार सहपाठी मिली एक कोठाबाट सुरु गरेको खल्ती सेवाप्रदायक जानकी टेक्नोलोजी अहिले नेपालका सफल कम्पनीको सूचीमा अग्रपंक्तिमा आउँछ ।

“मोबाइल र डिसहोम रिचार्ज सेवा त सबै भुक्तानी माध्यमले दिन्छन् । बजारमा राम्रो छवि बनिसकेकाले हामीलाई त्योभन्दा ठूलो केही गर्ने चुनौती थियो,” कम्पनीका संस्थापकमध्येका एक मनीष मोदी भन्छन् । मनीषलगायत उनका सहपाठीका पहिलेका स्टार्टअप स्प्यारो एसएमएस र पिकोभिको पनि सफल भए । एउटा स्टार्टअप सफल भएपछि त्यहाँबाट आर्जेको मुनाफा अर्को कम्पनीमा लगाउने क्रममा खल्ती आएको हो । भारत र दक्षिण अमेरिकी राष्ट्र चिलीमा समेत ती कम्पनीले ख्याति कमाए ।

नगदरहित भुक्तानी सहज बनाए पनि अधिकांश मानिस अझै खल्तीजस्ता सेवा स्वीकार्न सकिरहेका छैनन् । यसका अर्का संस्थापक अरबिन्द शाह भन्छन्, “तिनलाई यो सेवा सुरक्षित र भरपर्दो छ भनी बुझाउन सकेको दिन नै हामी आफूलाई सफल मान्नेछौँ ।”

कहिलेकाहीँ नचाहँदा नचाहँदै आइपर्ने प्राविधिक त्रुटिका कारण भुक्तानी नहुँदा पैसा खर्च भयो भनी आत्तिने मानसिकता हामीमाझ व्याप्त छ । यसका लागि डिजिटल साक्षरता कार्यक्रमको आवश्यकताबोध खल्तीमा सबैले गरेका छन् । त्यसैले समाजमा डिजिटल वालेट सम्बन्धी सचेतना फैलाउन प्लस टु र स्नातक गर्दै गरेका छात्रा नियुक्त गरेको अर्का संस्थापक ध्रुव अधिकारी बताउँछन् ।

नेपालमा अहिले फस्टाइरहेको ईकमर्स उद्योग हेर्ने हो भने ‘किराना’ ले आफ्नो छुट्टै पहिचान बनाइरहेको छ । “अनलाइन प्लेटफर्ममा जो पनि लुगा र इलेक्ट्रोनिक्स मात्र बेच्दै छ । त्यसबाहेक पनि मानिसका आधारभूत आवश्यकता छन्, जुन पूरा गर्ने सपना हामीले देख्यौँ,” किरानाका संस्थापक सागर भट्ट, ३० भन्छन् । काठमाडौँका असनटोल र सुपरमार्केटका भीड छिचोल्दै भान्सामा आवश्यक सामान किन्ने चलन उनीहरू बदल्न चाहन्छन् । त्यसैले वेबसाइटमा अर्डर आएका सामान ग्राहकको ढोकासम्मै पुर्‍याउने अभिभारा यिनले लिएका छन् । “ग्राहकलाई गुणस्तर चित्त नबुझे सामान फिर्ता पनि लिन्छौँ । यस्तैबाट त हो हामीले सिक्दै जाने,” अर्का संस्थापक कल्याण अधिकारी भन्छन् ।

यीमध्ये अधिकांश स्टार्टअपले सुरुमा आफ्नै परिवारको समेत विश्वास जित्न सकेनन् । “मैले यस्तै कुनै स्टार्टअपमा जागिर खाइरहेको भए अभिभावक सायद खुसी हुन्थे । तर, आफैँले स्टार्टअप सञ्चालन गर्न खोज्दा सुरुमा सोचेजस्तो सहयोग पाइनँ,” किरानाका कल्याण अधिकारी भन्छन् ।

नेपालमा प्रविधिमैत्री स्टार्टअपले पछिल्लो समय फड्को मारिरहेको देख्न सकिन्छ । आयुषी केसी, २९, द्वारा सञ्चालित खालीसिसीडटकम अन्तर्राष्ट्रिय बजारमा धेरै रुचाइयो । फोब्र्सले निकालेको सफल उद्यमीको सूचीमा पर्न केसी सफल भइन् । सबैका मोबाइल एप्लिकेसन छैनन् । कतिका त वेबसाइट पनि छैनन् । तर, फेसबुकट्वीटर  र इन्स्टाग्राममा पेज खोली व्यवसाय गर्ने स्टार्टअप पनि थुप्रै छन् ।

कलासामग्री तथा ग्रिटिङ कार्ड बिक्री वितरण गर्ने लिटल थिंग्स नामक स्टार्टअपको वेबसाइट र मोबाइल एप्लिकेसन छैन । यसका सञ्चालक सविन भण्डारी सबै अर्डर फेसबुक र इन्स्टाग्रामबाट लिन्छन् । भन्छन्, “सामाजिक सञ्जाल संसारभर व्यवसाय सञ्चालन गर्ने ठूलो प्लेटफर्मका रूपमा विकसित हुँदैछ । हामीले पनि त्यही ट्रेन्ड पछ्याएका हौँ ।” शून्य अथवा सानो लगानीमै व्यवसायको प्रचारप्रसार गर्न सकिने हुँदा सोसल मिडिया मार्केटिङ अहिले धेरैको रुचिमा पर्न थालेको छ ।

प्रविधिमा आधारित स्टार्टअप फस्टाउँदै जाँदा पैसा पनि थुप्रै कमाइन्छ भन्ने गलत धारणा रहेको बताउँछन्, सारथिका प्रकाश न्यौपाने । भन्छन्, “आइडिया मात्र भए यस्ता स्टार्टअप सुरु गर्न निकै सहज छ । तर, निरन्तरता दिन कठिन ।” प्रचार गर्दा, वेबसाइट तथा एप्लिकेसन अद्यावधिक गर्दा कहिलेकाहीँ व्यक्तिगत खर्च कटौती गरेरै भए पनि व्यवसायलाई निरन्तरता दिएका छन् यस्ता स्टार्टअपले । धैर्य नभए यस क्षेत्रमा टिक्न मुस्किल पर्ने उनीहरूको अनुभव छ ।

– विभु लुइटेल
Khalti Digital Wallet_Nepal Magazine Coverage_Page 1
Khalti Digital Wallet_Nepal Magazine Coverage_Page 1
Khalti Digital Wallet_Nepal Magazine Coverage_Page 2
Khalti Digital Wallet_Nepal Magazine Coverage_Page 2

यो लेख कान्तिपुरको नेपाल म्यागजिनबाट साभार गरिएको हो ।

Facebook Comments
स्टार्टअपले बदलेको व्यापार

You May Also Like