Information Technology in Nepal

उकालो लाग्दै आइटी

चैतको पहिलो हप्ता चर्चित हुमानोइड रोबट सोफियाले काठमाडौंमा विशेष कार्यक्रमबीच सम्बोधन गरिन् । सम्बोधनका क्रममा उनले रोबोटको प्रयोगमार्फत मानव जीवन अझ सहज र सरल हुने बताइन् । आधुनिक प्रविधि प्रयोग गरेर नेपालले शिक्षा, स्वास्थ्य, पूर्वाधार, दिगो विकास गर्दै मुलुकले आर्थिक उन्नती गर्न सकिने उनको उद्घोष थियो।

 विश्वमा हाल चौथो औद्योगिक क्रान्ति अर्थात ‘फोर्थ इन्ड्रस्ट्रियल रिभोलुसन’ चलिरहेको छ । सोफिया यसको एक उदाहरण हुन् । उच्च गतिको इन्टरनेट र ‘बिग डाटा’ प्रयोग गरेर विश्वका कैयौं देशले औद्योगिक क्रान्ति गरिरहेका छन् । यसले विश्वका मुलुकले आर्थिक उन्नती मात्र गरेका छैनन्, हरेक व्यक्तिको दैनिक जीवनलाई सहज बनाएका छन्।नेपालमा यस्ता उच्च प्रविधिको प्रदर्शनी र छलफल भएपनि अहिलेसम्म चौथो औद्योगिक क्रान्तिका बेलाको प्रविधि प्रयोग हुन सकेको छैन । पहिलो, दोस्रो र तेस्रो औद्योगिक क्रान्तिका ‘बाछिटा’ पनि नेपालमा आउन सकेनन्।

‘स्टिम इन्जिन’को विकासलाई पहिलो, विद्युत्को विकास र वृहत् उत्पादनका लागि यसको प्रयोगलाई दोस्रो औद्योगिक क्रान्ति र उत्पादन बढाउन स्वचालित इलोक्ट्रोनिक्स र सञ्चार प्रविधिको प्रयोग तेस्रो क्रान्ति मानिन्छ । विश्वमा विकास भएका यी प्रविधिले नेपालमा खासै स्थान बनाउन सकेनन् । चौथो औद्योगिक क्रान्तिको प्रविधिबाट नेपाल विमुख नहोस् भनेर यसको प्रयोगमा जोड दिन थालिएको छ ।नेपालमा विज्ञान प्रविधिको अन्य क्षेत्रमा उन्नती गर्न नसके पनि सूचना तथा सञ्चार प्रविधिमा भने उत्साहजनक प्रगति गरेको छ ।

विश्वमा विकास भएको पहिलो, दोस्रो र तेस्रो औद्योगिक क्रान्ति नेपाल जस्ता अतिकम विकसित मुलुकले अनुभव नै गर्न नपाएकाले चौथो औद्योगिक क्रान्तिमा भने नेपाल सहभागी हुने वातावरण तयार गर्नुपर्ने बहस सुरु भएको छ।

सूचना तथा सञ्चार प्रविधिमा बाहेक अन्य प्रविधिका क्षेत्रमा मुलुकमा खासै प्रगति हुन नसकेको राष्ट्रिय आविस्कार केन्द्रका अभियन्ता महावीर पुन बताउँछन् । ‘सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा केही सकारात्मक काम भएका छन्,’ उनले भने, ‘अन्य क्षेत्रमा भने खासै काम हुन सकेको छैन ।’ विगतका पाँच–सात वर्षमा केही स–साना ‘स्टार्टअप’ सुरु भएको उनले बताए । इ–सेवा, खल्ती डट कम ‘स्टार्टअप’का उदाहरण हुन् ।मुलुकमा विकास भएको सूचना तथा सञ्चार प्रविधिको विकासले यस्ता स–साना ‘स्टार्टअप’ सुरु गर्न सहयोगी बनेको छ।

एक दशकको अवधिमा मुलुकले सूचना तथा सञ्चार प्रविधिमा ठूलो फड्को मारेको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले बताए । अन्य क्षेत्रको विकास र प्रगति सुस्त भइरहेका बेला यस क्षेत्रमा भने उल्लेखनीय उपलब्धि हासिल भएका छन्।खनालका अनुसार मुलुकमा ०६२÷६३ पछि सूचना तथा सञ्चार प्रविधिमा उल्लेख्य प्रगति भएका छन् जसले गर्दा आमनेपालीको जीवनशैली मै परिवर्तन ल्याइदिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एकआइएस) ०६५ मंसिरको तथ्यांक अनुसार टेलिफोन सेवा प्रयोग गर्ने उपभोक्ता ५० लाख ८६ हजार थिए । जसमध्ये मोबाइल (जिएसमए, सिडिएमए र थ्रिजी) का ग्राहक ४२ लाख ३८ हजार थिए ।

तथ्यांक अनुसार त्यो बेला मुलुकको टेलिडेन्सिटी १८.८६ प्रतिशत रहेकोमा मोबाइलको हिस्सा १५.७२ प्रतिशत थियो भने फिक्स लाइनको ३.१४ प्रतिशत थियो ।  प्राधिकरणको ०७४ पुस महिनाको तथ्यांकलाई तुलना गर्ने हो भने टेलिडेन्सिटी १२० प्रतिशतभन्दा धेरै फरक हुन आउँछ ।

तथ्यांक अनुसार हाल मुलुकको टेलिडेन्सिटी १४२ प्रतिशतबाट उकालो लागेको छ । मुलुकमा सञ्चालन भएका ६ वटा दूरसञ्चार सेवा प्रदायकका ग्राहक संख्या जोड्ने हो भने तीन करोड ७८ लाख जनसंख्याले टेलिफोन सेवा प्रयोग गरिरहेको देखिन्छ । त्यस्तै १० वर्षको अवधिमा इन्टरनेट प्रयोग र विकास संख्यात्मक तथा गुणात्मक रुपमा उल्लेख्य वृद्धि भएको छ । प्राधिकरणको तथ्यांक हेर्दा ०६५ माघमा मुलुकमा एक लाख १० हजारले इन्टरनेट चलाउँथे ।

जसमध्ये एडिएसएल चलाउनेको संख्या १४ हजार थियो ।०६६ चैतमा मुलुकभर मोबाइल डाटा, केबल इन्टरनेट चलाउनेको संख्या सात लाख ५५ हजार थियो । यसमध्ये आइएसपीमार्फत इन्टरनेट चलाउनेको संख्या ६३ हजार थियो भने नेपाल टेलिकमका एक लाख ९५ हजार ग्राहकले डाटा प्रयोग गर्थे । अर्को वर्ष ०६७ साउनमा मुलुकमा इन्टरनेट प्रयोगको पेनिट्रेसन ३.९४ प्रतिशत पुगेको थियो । अर्थात उक्त वर्ष ११ लाख पाँच हजार जनताले इन्टरनेट प्रयोग गर्थे।

एक दशकमा इन्टरनेट चलाउने उपभोक्ताको संख्या एक करोड ६९ लाखले बढेको देखिन्छ । प्राधिकरणको ०७४ पुस महिनाको तथ्यांक अनुसार इन्टरनेट चलाउने उपभोक्ता एक करोड ७० लाख पुग्दा इन्टरनेट पेनिट्रेसन झन्डै ६४ प्रतिशत पुगेको छ ।संख्यात्मक रुपमा हेर्ने हो भने पनि १० वर्षको अवधिमा दूरसञ्चार सेवा प्रदायक कम्पनी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरू थपिएका छन् । हालसम्म मोबाइल सेवा प्रदायक कम्पनीका संख्या ६ पुगेका छन् । त्यस्तै इन्टरनेट सेवा प्रदान गर्ने आइएसपीको संख्या दुई दर्जन पुगिसकेका छन्।

दुई–तीन वर्षको अवधिमा इन्टरनेटको मूल्यमा पनि उल्लेख्य कमी आएको छ । खनालका अनुसार तीन वर्षअघि एक महिनामा प्रतिएमबिपिएस इन्टरनेटको मूल्य ५० डलर थियो । हाल यो मूल्य घटेर १२ डलरसम्म आइपुगेको छ । यसले इन्टरनेट पहुँच वृद्धिमा सहयोग गरेको छ।

पछिल्लो समयमा जसरी इन्टरनेट प्रयोगकर्ता र सेवा प्रदायक वृद्धि भएका छन् त्यस अनुसार गुणात्मक रुपमा प्रगति भने हुन सकेको छैन । ‘अहिले इन्टरनेटको मागलाई व्यवस्थापन गर्न मै सेवा प्रदायक व्यस्त छन्,’ खनालले भने, ‘तीव्र गतिमा इन्टरनेटको माग बढ्दै जाँदा गुणात्मक वृद्धिलाई ध्यान दिन नसकेको देखिन्छ।’

१० वर्षको अवधिमा मुलुकमा भित्रिएका स्मार्टफोन, थ्रिजी र फोरजीको विकास र सेवा प्रदायकको सेवामा देखिएको प्रतिस्पर्धाले उपभोक्ताको जीवनशैली नै परिवर्तन गरिदिएको छ । मुलुकमा ०५६ सालमा दोस्रो पुस्ताको मोबाइल इन्टरनेट (टुजी) सुरुआत भयो । त्यस्तै ०७२÷७३ मा थ्रिजी र ०७३- ७४ मा फोरजीको सुरुवात भयो । नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले फोरजी सेवा सुरु गरिसकेका छन्।

एकातिर नयाँ प्रविधि थपिँदै गएका छन् भने अर्कोतिर यसको प्रयोग गर्ने स्मार्ट मोबाइल हेन्डसेटको आयात तीव्र हुँदै गएको छ । प्राधिकरणको तथ्यांक अनुसार हाल प्रत्येक महिना चार लाख स्मार्टफोन भित्रिरहेका छन् । मुलुकमा भित्रिरहेका फोन सेटमध्ये ४० प्रतिशत स्मार्ट सेट छन्।

गाउँगाउँमा पुगेको थ्रिजी प्रविधिले आम उपभोक्ताको जीवनशैली परिवर्तन गरिदिएको छ । आमउपभोक्ताकै जीवनशैलीमा फरकपन ल्याउन मोबाइल र यससँग जोडिएको प्रविधिले मुख्य भूमिका खेलेका छन् । प्रविधि र सेवा शुल्क सस्तो हुँदै जाँदा सर्वसाधारणको पहुँचमा मोबाइल आइसकेको छ । हत्तपत्त कसैले पनि मोबाइल किन्ने आँट गर्दैनथे । अहिले यो अवस्था रहेन । अहिले सामान्य नेपालीले किन्न सक्ने मोबाइल बजारमा उपलब्ध छन्।

मोबाइल सेटको मूल्य सस्तो हुँदै गएको छ । त्यस्तै दूरसञ्चार सेवा प्रदायक कम्पनी पनि बढेका छन् । उनीहरूबीच ग्राहक तान्ने प्रतिस्पर्धाले सेवा शुल्क सस्तो हुँदै गएको छ । कम्पनीहरूले विभिन्न प्याकेज, इन्टरनेट जस्ता अतिरिक्त सुविधा उपलब्ध गराउँदा मोबाइल सर्वसाधारणको आकर्षण बनेको छ।

अहिले मोबाइल फोन गर्ने र उठाउने मात्र सीमित रहेन । यसमा इन्टरनेटको सुविधा, विभिन्न एप्लिकेसनले उपभोक्ताको काम सघाइरहेका छन् । मोबाइल प्रविधिको प्रयोगबाट लोकल कन्टेन्ट उत्पादन भइरहेका छन् । मनोरञ्जन, सूचना, शिक्षा लगायतको कन्टेन्ट मोबाइलबाट प्रयोग गर्न सकिने भएको छ ।अबको दुई–तीन वर्षमा मुलुकको ब्रोडब्यान्ड इन्टरनेट प्रविधिमा ठूलो फड्को मार्ने आधार तयार भएको खनाल बताउँछन् । हाल मुलुकभर ब्रोडब्यान्ड इन्टरनेट पु¥याउन पूर्वाधार निर्माण कार्य भइरहेका छन् ।

ब्रोडब्यान्ड पूर्वाधारका लागि नेपाल दूरसञ्चार विकास कोष परिचालन गरी अप्टिकल फाइबर, माइक्रोवेभ, स्याटेलाइट प्रविधि प्रयोग गरेर मुलुकभर पूर्वाधार पु¥याउन प्राधिकरणले दुई प्रकारका परियोजना अगाडि बढाएको छ।त्यसमध्ये एक हो अप्टिकल ब्याकबोन नेटवर्क परियोजना र ब्रोडब्यान्ड एक्सेस नेटवर्क परियोजना । मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकम, युटिएल र स्मार्ट टेलिकमसँग सम्झौता भइसकेको छ ।

मध्यपहाडी लोकमार्ग र पूर्व–पश्चिम मार्गलाई जोड्ने गरी उत्तर–दक्षिणका मार्गबाट अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको छ ।त्यस्तै ब्रोडब्यान्ड एक्सेस नेटवर्क परियोजना अन्तर्गत उपत्यकाका तीन जिल्लाबाहेक ७४ जिल्लालाई १८ वटा प्याकेजमा बाँडेर ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याइँदै छ ।

यस परियोजना अन्तर्गत ती जिल्लाका विद्यालय, स्वास्थ्य चौकी, स्थानीय निकाल लगायत सार्वजनिक स्थलमा दुई वर्षसम्म निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराइने छ । ‘यी योजना पूरा हुनेबित्तिकै ब्रोडब्यान्ड इन्टरनेटमा ठूलो लहर आउने छ,’ खनालले भने।यी पूर्वाधार तयार भइसकेपछि भने त्यसको प्रयोग कसरी हुन्छ भन्नेमा ध्यान दिनु जरुरी छ । ‘यो पूर्वाधारबाट प्राप्त हुनसक्ने सेवा कसरी प्रयोग गर्ने, एप्लिकेसन र कन्टेन्ट विकास कसले र कसरी गर्ने भन्ने अबको प्रश्न हो,’ खनालले भने, ‘यी कुरामा ध्यान दिएर काम गर्ने हो भने आइसिटीले आर्थिक विकासमा ठूलो सहयोग गर्ने छ।’

सूचना, सञ्चार प्रविधिको प्रयोग आफैंमा एक विकास भएको र यसले अन्य क्षेत्रलाई समेत अगाडि बढाउन समेत सहयोग गर्छ । जस्तो कि टेलिमेडिसिन, इ–शिक्षा, इ–कमर्स, इ–गभर्नेन्सका लागि यी पूर्वाधार सहयोगी बन्न सक्नेछन् । जस्तो कि अहिले पनि इ–सेवा, खल्ती जस्ता ‘स्टार्टअप’मार्फत इ–पेमेन्टको काम सुरु भइसकेको छ।

के मुलुकले चौथो औद्योगिक क्रान्ति आत्मसात गर्न सक्ला?मुलुकमा स्थापना भएका र हुन लागेका प्रविधिका पूर्वाधारले चौथो औद्योगिक क्रान्तिको लहरलाई नेपालभित्र पनि ल्याउन सकिने विज्ञको भनाइ छ । नेपाल सधैं गरिबीको चपेटामा परिरहँदा विश्वमा विकास भएका ठूला प्रविधिलाई आत्मसात गर्न सकिएको छैन।

‘यसअघि विश्वमा चलेका औद्योगिक क्रान्तिमा हाम्रो मुलुक सहभागी हुन सकेन,’ इन्हास्ड इन्डिग्रेटेड फ्रेमवर्क (इआइएफ)का कार्यकारी निर्देशक रत्नाकर अधिकारीले भने, ‘अब चौथो औद्योगिक क्रान्तिलाई भने नेपालले आत्मसाथ गरेर अगाडि बढ्न जरुरी छ ।’ नेपाल सरकार र सम्बन्धित सरोकारवालाले यस्तो प्रविधि भिœयाउन अहिलेदेखि नै गम्भिर नहुने हो भने धेरै पछि परिने उनको भनाइ छ ।चौथो औद्योगिक क्रान्तिमा प्रयोग भइरहेका प्रविधिले औद्योगिक उत्पादन बढाउन सहयोग गरेको छ भने विश्वको सामाजिक, आर्थिक, विज्ञान, खोज अनुसन्धानमा सहयोग गरिरहेको छ।

अधिकारीका अनुसार प्रविधिको चौथो क्रान्तिले ठूलो मात्रामा उत्पादन बढाउन, कृषिमा आधुनिकीकरण गर्न, औद्योगिक विकास, सेवा क्षेत्र, इ–कमर्स, शिक्षा, स्वास्थ्य, वातावरण, विपत् व्यवस्थापन, नयाँ आविस्कार लगायत सहयोग गरिहेको छ । ‘नयाँ प्रविधिले उत्पादन क्षेत्रमा सबैलाई प्रतिस्पर्धात्मक बनाएको छ,’ अधिकारीले भने, ‘ड्रोनको प्रयोगले कृषि क्षेत्रमा ठूलो सहयोग गरिरहेको छ।’विश्वमा विकास भएको पहिलो, दोस्रो र तेस्रो पुस्ताका औद्योगिक क्रान्ति नेपाल जस्ता अतिकम विकसित मुलुकले अनुभव नै गर्न नपाएकाले चौथो औद्योगिक क्रान्तिमा भने नेपालसँगै जान सक्ने वातावरण तयार गर्नुपर्ने अधिकरीले बताए ।

विश्वमा भएको पहिलो औद्योगिक क्रान्ति ‘स्टिम इन्जिन’को विकासलाई मानिएको छ । जुन अहिलेको गाडीको विकासको पहिलो रुप थियो । त्यस्तै विद्युत् विकास र वृहत् उत्पादनका लागि यसको प्रयोगलाई दोस्रो औद्योगिक क्रान्तिका रुपमा मानिन्छ । उत्पादन बढाउन स्वचालिन इलोक्ट्रोनिक्स र सञ्चार प्रविधिको प्रयोग तेस्रो औद्योगिक क्रान्ति हो । नेपालले औद्योगिक विकास गर्न यी तीनै प्रविधिलाई राम्रोसँग प्रयोग गर्न सकेन।

विश्वमा विकास भएको पछिल्ला प्रविधि (आर्टिफिसिएल इन्टेलिजेन्स) मा नेपालको प्रगति नाजुक भएको अवस्थामा यसलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर २२ वटा मन्त्रालय मिलेर योजना तयार गरेको छ । केही समयअघि चौथो औद्योगिक क्रान्ति, नेपालका लागि चुनौती र अवसरमा बोल्दै नपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले विश्वमा आर्टिफिसिएल इन्टेलिजेन्स’ (एआई)को प्रयोगबाट दैनिक जीवनका काम देखि ठूलाठूला काम भइरहेको अवस्थामा नेपालमा भने कागजी काममै झुलाइरहेको बताए।

‘मैले केही काम गर्न थाले भने अहिलेसम्म मेरो लालपूर्जा १० ठाउँ घुमाइन्छ,’ शर्माले भने, ‘अझै पनि हामी दोस्रो पुस्ताको प्रविधिभन्दा माथि जान सकेका छैनौं ।’ काम गर्ने शैली परिवर्तन गरेर नयाँ प्रविधि प्रयोग गर्दै औद्योगिक उत्पादन बढाउनतिर सरकारले पहल गर्नुपर्ने उनको भनाइ थियो ।  निजी क्षेत्रबाट प्रयास भइरहेको भए पनि त्यसलाई मलजल गर्नेतर्फ सरकारले काम गर्न नसकेको पुनले बताए । ‘यस सम्बन्धी नीति बनेका छैनन् । सरकारको सहयोग छैन,’ पुनले भने।

प्रविधिका सानातिना कामहरू सुरु भइसकेका छन् । सामाजिक अभियन्ता पुनको नेतृत्वको राष्ट्रिय अविस्कार केन्द्रले हालै मानवरहित स्वचालित ‘मेडिकल ड्रोन’ बनाएर करिब डेढ किलोमिटरको उडान भर्दै गाउँमा औषधि पुर्‍याएको छ ।

चैतको अन्तिम साता म्याग्दीको विकट गाउँमा पुनले प्रयोग गरेको यो प्रविधि सेवा क्षेत्रमा प्रविधिको प्रयोगको उदाहरण हो ।‘यस्ता सानातिना प्रविधिको प्रयोग मुलुकमा सुरु भइसकेका छन्,’ पुनले भने, ‘अब यसलाई व्यापक बनाउन जरुरी छ । यसका लागि राज्यले नीति नियम बनाएर आवश्यक लगानी गर्नुपर्छ।’

– सन्तोष न्यौपाने 

This article was originally published at Nagarik News.

Read also: What to look for Mobile Payment trends in Nepal in 2075 BS?

Facebook Comments
उकालो लाग्दै आइटी

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *