Financial Literacy in Nepal

वित्तीय साक्षरता : अर्थ र आवश्यकता

पछिल्ला वर्षहरूमा विश्व आर्थिक क्षेत्रमा वित्तीय समावेशीकरण र वित्तीय साक्षरताको विषयले ठूलो चर्चा एवम् महत्त्व पाउन थालेको छ । वित्तीय  समावेशीकरणको सामान्य अर्थ सबैका लागि वित्तीय सेवा भन्ने हुन्छ । प्रत्येक नागरिकलाई सुलभ तरिकाले वित्तीय सेवाको पहुँच पुर्याउनु नै वित्तीय समावेशीकरणको अवधारणा एवम् उद्देश्य हो ।

वित्तीय समावेशीकरणले क्षेत्र, लिङ्ग, वर्ण, जात आदिका आधारमा कुनै भेदभाव नगरी समान रूपमा वित्तीय संस्थाहरूबाट प्रदान गरिने औपचारिक वित्तीय सेवा पुर्याउनु पर्दछ भन्ने दृष्टिकोण राख्दछ । यसै गरी वित्तीय शिक्षाले कुनै पनि व्यक्तिसँग भएको आर्थिक वा वित्तीय स्रोत–साधनको प्रभावकारी एवम् मितव्ययी उपयोग गर्ने ज्ञान समेत प्रदान गर्दछ ।

हरेक व्यक्तिसँग भएको सीमित स्रोत र साधनको कुशल उपयोगबारे जानकारी दिँदै आयमूलक क्षेत्रमा लगानी गर्ने र त्यसबाट आर्थिक उन्नति गर्ने ज्ञान, सीप र कला प्रदान गर्नु वित्तीय साक्षरताको लक्ष्य हो ।

वित्तीय साक्षरतालाई वित्तीय चेतना तथा वित्तीय शिक्षा जस्ता नामले पनि बुझ्न सकिन्छ । वित्तीय साक्षरताले पैसाको महत्त्व बुझ्न र सो अनुसार त्यसको उचित व्यवस्थापन गर्ने शिक्षा प्रदान गर्दछ । पैसाको सदुपयोगबाट आर्थिक तथा सामाजिक सुरक्षा हासिल गर्ने, सीमित साधनको अधिकतम उपयोग गरी असीमित आवश्यकताहरूलाई प्राथमिकताको आधारमा पूरा गर्न व्यवस्थित बजेट बनाउने तरिका सिकाउने तथा सीमित साधनको व्यवस्थित परिचालन र उच्चतम सदुपयोग गर्ने कला, सीप र ज्ञान वित्तीय साक्षरताले प्रदान गर्दछ  ।

अर्को शब्दमा मानव जीवनका लागि अति आवश्यक पैसा वा धन सम्पत्ति कानुन बमोजिम मात्र आर्जन गर्ने, पैसा खर्च गर्दा मितव्ययी रूपमा बजेट बनाएर आय बमोजिम खर्च गर्ने, आफ्नो आयको केही अंश भविष्यका लागि वचत गर्ने तथा उद्यम व्यवसाय गर्नका लागि कर्जा लिने र विदेशको कमाइ अर्थात् विप्रेषण (remittance) को समुचित र उत्पादनमूलक उपयोग गर्ने ज्ञान तथा सीप वित्तीय चेतनाले प्रदान गर्दछ । यसका साथै, उद्यम व्यवसायमा कहिलेकाहीँ आउन सक्ने जोखिम व्यहोर्न र न्यूनीकरण गर्नका लागि बीमा तथा सुरक्षण गर्ने, गैरकानुनी ढङ्गबाट आर्जन गरेको सम्पत्तिले विपत्ती ल्याउँछ भन्ने जस्ता विषयमा आवश्यक न्यूनतम ज्ञान प्रदान गर्ने गर्दछ । वित्तीय चेतनामार्फत् व्यक्ति आफ्नो स्रोत र साधनको उपयोग विषयमा उचित निर्णय गर्न सक्षम हुन्छ । यसबाट निजको र मुलुकको समेत आर्थिक उन्नतिमा सहयोग पुग्दछ ।

विश्वमा अहिले करिव २ अर्ब ५० करोड जनता बैंकिङ तथा वित्तीय सेवाको पहुँचबाहिर रहेको अनुमान गरिएको छ । वित्तीय समावेशीकरणलाई बढावादिई बढीभन्दा बढी जनतामा बैंकिङ तथा वित्तीय सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले अन्तराष्ट्रिय जगत्मा पनि विभिन्न निकायहरू कार्यरत रहेको तथा यसतर्फको प्रयासमा आफ्नो सार्थक भूमिका निर्वाह गर्नको लागि नेपाल राष्ट्र बैंकले पनि प्रतिबद्धता जनाएको अवस्था छ । त्यसैगरी, विश्वभरका करिव २ अर्ब २० करोड बालबालिकाहरू मध्ये करिव १ अर्ब बाल–बालिकाहरू अहिले पनि निरपेक्ष गरिबीको रेखामुनि रहेका छन् भने हालसम्म १ प्रतिशतभन्दा कम बालबालिकाहरू मात्र वित्तीय साक्षरता र वित्तीय समावेशीकरणको दायरामा आएका छन् । विश्वभरमा करिव १३प्रतिशत युवाहरू बेरोजगार रहेका छन् । यस्तो बेरोजगारीको अंश कतिपय मुलुकमा करिव ५० प्रतिशतसम्म रहेको पाइएको छ । १५ देखि २५ वर्ष उमेर समूहका युवाहरू मध्ये करिव ४० प्रतिशतको मात्र बैंक वित्तीय संस्थाहरूमा खाता रहेको पाइएको छ ।

नेपालको सन्दर्भमा यहाँको जनसंख्याको ठूलो भाग अझै पनि औपचारिक वित्तीय सेवाबाट वञ्चित रहेको देखिन्छ । मुलुकमा एकचौथाई जति जनसंख्या गरिबीको  रेखामुनि रहेको छ र सो जनसंख्यालाई गरिबीबाट मुक्त गराउनु आवश्यक छ । गरिबी तथा बेरोजगारीको यो भयावह स्थिती छ । वित्तीय सेवाको न्यून पहुँचको अवस्थाबाट मुक्तिको लागि वित्तीय चेतना वा साक्षरता अभियान अपरिहार्य छ । वित्तीय सेवाको माग पक्षमा अर्थपूर्ण सुधार ल्याउन नेपालमा पनि वित्तीय चेतना एवम् साक्षरता कार्यक्रम विस्तार गर्नु अपरिहार्य र महत्वपूर्ण हुन आउँदछ ।

त्यसो त वित्तीय चेतना गरिबहरुलाई गरिबीबाट मुक्ति दिलाउन मात्र आवश्यक छ भन्ने बुझिनु हुँदैन । यो शिक्षा समाजका हरेक व्यक्तिलाई आवश्यक छ । उचित वित्तीय शिक्षाले मात्र उद्यम व्यवसायका सम्भावित जोखिमबाट बच्न वा जोखिमलाई न्यूनीकरण गर्न सम्भव हुन्छ । वित्तीय साक्षरताको सवालमा राष्ट्रका भोलीका कर्णधार आजका बालबालिकालाई अहिलेदेखि नै अर्थ तथा वित्त सम्बन्धि असल संस्कार, बानीव्यहोरा, आचरण सिकाउन थालेमा भोलीका दिनमा उनीहरुबाट परिवार, समाज र राष्ट्रले राम्रो प्रतिफल पाउने कुरामा विश्वस्त हुन सकिन्छ ।

This article first appeared in विद्यार्थी संग नेपाल राष्ट्र बैंक (NRB with Students)‘ , a book on Financial Literacy, published by Nepal Rastra Bank. It has been republished here for reference purpose only.

Facebook Comments
वित्तीय साक्षरता : अर्थ र आवश्यकता

You May Also Like

2 thoughts on “वित्तीय साक्षरता : अर्थ र आवश्यकता

Leave a Reply

Your email address will not be published. Required fields are marked *